विश्वव्यापी रूपमा कमेडी बिकिरहेको छ : रिमा विश्वकर्मा

कमेडी रियालिटी शो र अन्य शोमा होस्टिङ गर्नुमा केही फरक पाउनुभयो ?
रियालिटी शोमा होस्ट गर्नुअघि मेले थुप्रै इभेन्टहरू होस्ट गरिसकेकी थिएँ । होस्टिङ आफैंमा नयाँ नभए पनि मेरो लागि कमेडी भने नयाँ थियो । टिभीमा शो सुरु हुनुभन्दा दुई वर्ष अगाडिदेखि नै हामीले तयारी सुरु गरेका थियौं । स्ट्यान्ड अप कमेडी हेरिरहेका थियौं । त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सोचिरहेका थियौं । त्यो चुनौती थियो । काम गर्दै जाने क्रममा त्यसलाई हामीले अवसरमा बदल्यौं । मैले पनि जसरी हुन्छ, आफ्नो प्रस्तुतिलाई कमेडीमय बनाउने कोशिस गरेँ ।

यो समूहसँग कसरी जोडिनुभयो ?
केकी, म, विशाल भण्डारीजी कोहलपुर एक्सप्रेसमा काम गरिसकेका थियौं । हामी करिएरको यस्तो फेजमा थियौं कि हामी काम कुरेर बस्नुभन्दा कामको सृजना गर्नुपर्छ भन्ने भयो । हाम्रो समूह प्रोग्रेसिभ प्रकृतिको छ । अब के गर्ने भन्ने सोच्छौं । नेपालमा के छैन भनेर सोच्दै जाँदा कमेडी च्याम्पियनको विचार आएको हो ।

कमेडीको क्रेज किन बढेको होला ?
विश्वव्यापी रूपमा कमेडी बिकिरहेको छ । समाज यति प्रतिस्पर्धात्मक भयो कि अरुलाई जित्ने, अरूभन्दा माथि जाने तनाबमा हामी सानो सानो कुरामा पनि हाँस्न बिर्सिरहेका छौं । यस्तो बेला योगलगायतका कुरा चर्चामा आइरहेको छ । मानिसमा आफ्नो लागि समय निकाल्नुपर्छ भन्ने भावनाको विकास भइरहेको छ । अर्थात, मान्छेलाई यतिबेला मनको शान्ति चाहिएको छ । कमेडीले मानिसलाई तनावमुक्त बनाउँछ । हरेक विधामा कमेडी जोडियो भने त्यसले सहजता निम्त्याउँछ । यो विधा ग्रहण गर्न पनि सहज छ । त्यसैले यसको क्रेज बढेको हो भन्ने मलाई लाग्छ ।