कोरोना भाइरसले लियो हङकङमा एक जनाको ज्यान

काठमाडौं २१ माघ । हङकङमा पनि कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको ज्यान गएको छ । चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको मङ्गलबार बिहान ज्यान गएको समाचार संस्था अल जजेराले जनाएको छ । योसँगै चीन बाहिर कोरोना संक्तमितको मृत्यु भएको यो दोस्रो घटना हो ।

यसअघि गएको आइतबार फिलिपिन्समा रहेका एक चिनियाँ पुरुषको मृत्यु भएको थियो । अहिलेसम्म चीनमामात्र कोरोना संक्रमित चार सय २५ जनाको मृत्यु भैसकेको छ भने २० हजार चार सय ३८ जनामा संक्रमण देखिएको छ ।
चीनमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ ।

कोरोनाका कारण चीनमा मात्रै २० हजार चार सयभन्दा बढी मानिस संक्रमित भएका छन् । त्यस्तै हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा संक्रमण देखिएको छ ।

चिनियाँ अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म कम्तीमा चार सय २५ जनाको ज्यान गैसकेको छ । ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ ।

चीन बाहिर फिलिपिन्समा पनि केही दिनअघि एक जनाको ज्यान गैसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।