लसुनको नयाँ रेकर्ड

काठमाडौं, १९ माघ । १५ दिनअघिसम्म कालिमाटी बजारमा सुकेको लसुनको मूल्य किलोको औसत २४५ रुपैयाँ थियो । अहिले लसुनको मूल्य औसत ५५० रुपैयाँ प्रतिकेजीमा पुगेको छ । एक हप्ताअघि ४९५ रुपैयाँ प्रतिकिलोमा आईपुगको लसुनको मूल्य आइतबार अधिकतम् मूल्य ५६० रुपैयाँमा बिक्री हुँदै नयाँ रेकर्ड बनाएको छ ।

बजारमा प्याजको मूल्यले उपभोक्तालाई सताइरहेका बेला लसुनको मुल्यले पनि नयाँ रेकर्ड राखेको छ । दुई हप्ता १२५ प्रतिशतले लसुनको मूल्य बढेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले बताए ।

‘लसुन त सुनजस्तो भयो,’ उनले भने,‘इतिहासमा लसुनको मूल्य यति माथि गएको थिएन ।’ बढीमा प्रतिकिलो २८५ देखि ३०० रुपैयााभन्दा माथि नगएको लसुन अहिले खुद्रामा अधिकतम् ५६० रुपैयाँ पुगेको छ ।

लसुनको मूल्य बढ्नुको कारण हो, आयातमा निर्भर बजार व्यवस्था । चीनबाट हुने आयात प्रभावित भएपछि लसुन महंगिएको हो । अझै एक महिना लसुन महंगिने क्रम जारी रहने समभावना रहेको घिमिरेले बताए ।