अमर न्यौपानेलाई बेस्ट सेलर पुरस्कार

 

काठमाडौं, १९ माघ । शनिबार काठमाडौंमा ‘किताब जात्रा’को पहिलो संस्करण सम्पन्न भएको छ । विशेष गरी उपत्यकाका चार्डपर्वमा मनाइने जात्राहरुमा गरिने नेपालको मौलिक नाच ‘लाखे नाच’बाट सुरु भएको ‘किताब जात्रा’ कवि नवराज पराजुलीको कथा वाचनसँगै समापन भएको थियो ।

किताब यात्रा फाउन्डेसनले पहिलो पटक आयोजना गरेको ‘किताब जात्रा’मा पठन संस्कृतिका विविध आयामबारे ४ फरक सत्रहरुमा बहस भएको थियो । बहसमा नयनराज पाण्डे, नारायण वाग्ले, सुधीर शर्मा, विश्वभक्त दुलाल ‘आहुति’, सरस्वती प्रतिक्षा, अनिल केशरी शाह, टिकाराम यात्री, विनोद चौधरी, दिलभुषण पाठक, दयाहाङ राई लगायतका लेखक, कलाकार तथा पत्रकारहरुले सहभागीता जनाएका थिए ।

‘किताब जात्रा’ कार्यक्रमलाई सम्बोधन गर्दै हरिवंश आचार्यले पछिल्लो समय पठन संस्कृतिको विकास भएकाले किताबको भविष्य उज्ववल रहेको बताएका थिए नेपालमा हुने जात्राहरुमा किताब जात्राले पनि नयाापन भित्राएको हरिवंशको भनाइ थियो ।

किताब यात्राका अध्यक्ष ऋषिराम अधिकारीले आफूले पठन संस्कृतिको विकास गर्न किताब सबैमा पुर्‍याउने र साहित्यलाई जोड्ने उद्देश्यले किताब जात्राको आयोजना गरिएको उल्लेख गरे ।

यात्रा फाउन्डेसनले ५५ हजार ५५५ राशिको ‘प्रेम साहित्य सम्मान’ लेखक सरुभक्तलाई प्रदान गरेको छ । यो पुरस्कार स्वर्गीय प्रेमप्रसाद अधिकारीको स्मृतिमा छोरा ऋषिराज अधिकारीले स्थापना गरेका हुन् ।

कार्यक्रममा आख्यानकार अमर न्यौपानेको पछिल्लो उपन्यास ‘गुलाबी उमेर’लाई ‘बेस्ट सेलर’ अवार्ड प्रदान गरिएको छ । न्यौपानेको ‘गुलाबी उमेर’ किताब यात्रा मार्फत यो वर्ष सबैभन्दा बढी बिक्री भएको किताब हो ।