कोरोना महामारी र त्रास

चीनबाट फर्केका व्यक्तिमा कोरोना देखिएको पुष्टि भएपछि सरकारले तत्कालै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि पहल थालेको छ ।

चीनको वुहानबाट फैलिएको प्राणघातक नोबेल कोरोना भाइरसले नजिकको छिमेकी मुलुक नेपालमा पनि त्रास उत्पन्न गराएको छ ।

काठमाडौं, १७ माघ ।
१० माघमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नोबेल कोरोना भाइरस देखिएको औपचारिक पुष्टि गर्‍यो । चीनबाट पढेर फर्किएका एक नेपालीमा रुघाखोकी र ज्वरो देखिएपछि २८ पुसमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए । अस्पतालका चिकित्सकहरूले उनमा नोबेल कोरोना भाइरसका शंकास्पद लक्षणहरू देखिएपछि नमुना परीक्षण गर्न हङकङ पठाए । उक्त नमुना पोजेटिभ देखिएपछि मन्त्रालयले पत्रकार सम्मेलन गरेर औपचारिक

रूपमा नेपालमा चीनबाट फर्केका व्यक्तिमा कोरोना भाइरस देखिएको पुष्टि गर्‍यो ।
चीनको हुबे प्रान्तको वुहान ‘इपिसेन्टर’ मानिएको प्राणघातक कोरोना भाइरस यतिबेला तीव्र रूपमा फैलिरहेको छ । यो बुधबार बिहानसम्म २२ देशमा देखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनमा मात्रै कोरोना भाइरसबाट १ सयभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्, उक्त प्रान्तका ३ हजारभन्दा बढी मानिस यसबाट प्रभावित भएको जनाइएको छ । श्वास–प्रश्वासबाट एकबाट अर्कोमा संक्रमण हुने यो रोग लक्षण देखिनुअघि नै अर्को मान्छेमा सर्न सक्ने जोखिमपूर्ण भएकाले भाइरस नियन्त्रण गर्न कठिन हुने ठानिएको छ ।

उत्तरी छिमेकी देश चीन नेपालमा दोस्रो बढी पर्यटक भित्र्याउने मुलुकमा पर्छ । त्यसबाहेक अध्ययन, व्यापार, भ्रमणजस्ता कुराले दुवै देशका नागरिक ओहोर–दोहोर गरिरहन्छन् । चीनमा कोरोना भाइरसको संक्रमण व्यापक बन्न थालेपछि त्यसको स्वाभाविक चिन्ता नेपालमा पनि सुरु भएको छ । नेपालमै चीनबाट फर्केका व्यक्तिमा समेत कोरोना देखिएको पुष्टि भएपछि सरकारले तत्कालै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि पहल थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनबाट नेपाल फर्केका एक नेपालीमा कोरोना भाइरसको पुष्टि भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सतर्कता अपनाइएको बताए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा विदेशबाट आउने सबै यात्रीको निगरानीका लागि उपकरण र चिकित्सकसहितको हेल्थ डेस्क चौबीसै घण्टा सञ्चालनमा ल्याइएको छ,’ श्रेष्ठ भन्छन्, ‘काठमाडौं उपत्यका, पोखरा, चितवन, लुम्बिनीलगायतका पर्यटकीय सहरहरूमा स्वास्थ्य डेस्कको स्थापना र आइसोलेसन बेडसहितको अस्पतालको व्यवस्था मिलाइएको छ र राजधानीका सबै अस्पताललाई एलर्ट गरिएको छ ।’

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको शरीरको तापक्रम अटोमेटिक रूपमा परीक्षण गर्ने ‘थर्मल स्क्यानर’ जडान गरेको छ । अहिले उक्त स्क्यानरबाट अमेरिका, थाइल्यान्ड, अस्ट्रेलियालगायतका कोरोना भाइरसको संक्रमण देखिएका २२ देशबाट आउने यात्रुहरूलाई निगरानी थालिएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुले सोमबारदेखि नेपालमै नोबेल कोरोना भाइरसको परीक्षणसमेत सुरु गरेको छ ।

श्वास–प्रश्वासबाट सजिलै फैलिने भएकाले संक्रमितबाट हुने जोखिम न्यूनीकरण गर्न र उनीहरूलाई उपचार गर्न उपयुक्त प्रबन्ध गर्न मन्त्रालयले उपत्यकाका वीर अस्पताल, शिक्षण अस्पताल, सिभिल सर्भिस अस्पताल, पाटन अस्पताल र टेकु अस्पताललाई तयारी अवस्थामा रहनसमेत निर्देशन दिएको छ । वुहानको सी मार्केटबाट फैलिएको आशंका गरिएको कोरोना भाइरस महामारीकै रूपमा देखिएको छ । चिनियाँ राष्ट्रपति सी जिनफिङले घातक कोरोना भाइरस तीव्र गतिमा फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बेला–बेला फैलने महामारीहरूले आममानिसमा त्रास पैदा गरिरहेका हुन्छन् । हैजा, दादुरा, स्वाइनफ्लु, मलेरिया, डेंगु, स्क्रब टाइफस, हेपाटाइटिसजस्ता महामारीले बर्सेनि कैयौं मानिसको ज्यान लिन्छ । यस्ता महामारीहरू रोक्नका लागि सरकारले विभिन्न पहल गरे पनि मौसमअनुसार फैलिने विभिन्न भाइरसले नेपालीहरूमा आतंकित गराउँदै आइरहेको छ । आखिर महामारी कसरी फैलिन्छ ? महामारी फैलिनुमा एउटा मात्र कारण नहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । ‘कुनै पनि भाइरस फैलिनका लागि एउटै मात्र आधार हुँदैन,’ डा. पाण्डे भन्छन्, ‘मानिसहरूको बदलिँदो जीवनशैली, नयाँ–नयाँ प्रविधि, दूषित खानेपानी, जलवायु परिवर्तनजस्ता कुराले नयाँ–नयाँ महामारी फैलिरहेको हुन्छ ।’

त्यसो भए कोरोना भाइरस रोकथाम र जोखिम न्यूनीकरण उपायहरू के हुन त ? डा. पाण्डे त्यसका लागि संक्रमितहरूको सम्पर्कबाट बच्नु नै पहिलो जोखिम न्यूनीकरणको उपाय मान्छन् । भन्छन्, ‘फ्लुजस्तो लक्षण देखाउने जो–कोहीको सम्पर्कबाट टाढा रहने, फ्लुको लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ ।’ त्यसबाहेक सरसफाइलगायतका कुरामा ध्यान दिनुपर्ने उनले सल्लाह दिए ।

नेपालमा संक्रमण फैलिनुपूर्व सरकारले तयारी गरे पनि महामारीको त्रास अझै छ । त्यसका लागि सरकारले नेपालका अस्पतालमा आइसुलेसनयुक्त उपचार कक्षहरूको निर्माण, चिकित्सक, स्वास्थ्यकर्मी र उपचारमा खटिनेहरूका लागि उपयुक्त मास्क तथा पोसाकहरूको व्यवस्था गर्नुपर्ने ठूलो चुनौती देखिएको छ । जसका लागि सरकारले तत्कालै पहल थाल्नुपर्ने सरोकारवालाहरूको बताउँछन् । ‘पर्सनल प्रोटेक्टिङ इक्युपमेन्टको राम्रो व्यवस्था गर्न सक्नुपर्छ,’ जनस्वास्थ्यविद् खेम कार्की भन्छन्, ‘कुनै भाइरसबाट संक्रमित भएको मान्छे आयो भने अस्पतालमा खटिने कर्मचारी, डाक्टर/नर्सहरूलाई पन्जा, गाउन, चस्मा, टोपी सबै सामानको प्रबन्ध गर्ने र त्यसलाई कसरी प्रयोग गर्ने भन्नेबारे पनि सिकाउनुपर्छ ।’ साथै, संक्रामक रोगका लागि आइसोलेसन गर्ने क्षमता विकास गर्नुपर्ने, प्राकृतिक प्रकोपको पूर्वतयारी गरिएजस्तै नयाँ खालका महामारी नियन्त्रणको बृहत् पूर्वतयारी गर्नुपर्ने र त्यस्तै खाले संरचनाको विकासमा पर्याप्त लगानी गर्नुपर्ने उनको मत छ ।

के हो नोबेल कोरोना भाइरस ?
नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो, जुन मानवजातिमा पहिलो पटक चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको थियो । यो भाइरस जीवजन्तुबाट मानिसमा प्रसार भई मानिसबाट मानिसमा संक्रमण हुँदै फैलिँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो भाइरसले सामान्य रुघाखोकी, ज्वरो, श्वास–प्रश्वासमा समस्याजस्ता लक्षणहरू देखा पर्ने डा. पाण्डे बताउँछन् ।
कोरोना भाइरस रुघाखोकी लगाउने भाइरसहरूको परिवारको एउटा सदस्य हो । यसले मानिसको श्वास–प्रश्वास प्रणालीमा गम्भीर खालको संक्रमण गराउने गर्छ । ज्वरो आउनु, सुक्खा खोकी लाग्नु र केही सातापछि सास फेर्न गाह्रो हुनु यो रोगका प्रमुख लक्षण हुन् । कोरोना भाइरसका लागि छुट्टै खोप र औषधि छैन, तर यस्तो भाइरसको संक्रमण देखिएमा अस्पतालमै लगेर उपचार गर्नुपर्छ ।
तर, अहिले फैलिएको कोरोना भाइरस यसअघि देखिएको थिएन । त्यसैले यो नयाँ भाइरसलाई द्दण्ज्ञढ(लऋयख नाम दिइएको छ । चमेरोबाट बिरालोजस्तो देखिने सिभिट र त्यसपछि मानिसमा भाइरस सरेपछि सन् २००३ मा श्वास–प्रश्वासम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो । सार्स र मार्सपछि श्वास–प्रश्वासमा समस्या निम्त्याउने कोरोना भाइरस हो । यो भाइरस संक्रमण धेरैजसो बालबालिका, वृद्ध, गर्भवती महिला तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरूमा हुन्छ ।