पहिलो राष्ट्रिय गजल महोत्सव सम्पन्न

काठमाडौं, १७ माघ । पाँच बुँदे घोषणा पत्र जारी गर्दै ‘राष्ट्रिय गजल महोत्सव २०७६’ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनमा २ दिने गजल महोत्सव सम्पन्न भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न महोत्सवमा देशभरका गजलकाहरुले प्रतिनिधित्व गरेका थिए ।

पछिल्लो समय बढ्दै ष्गएको गजलको लोकप्रियता र युवा आकर्षणलाई हेरेर पहिलो पटक गजल महोत्सव गरिएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उल्लेख गरेका छन् । उनले गजललाई लिएर भैरहेका विवाद, कुण्ठा र निरासालाई छाडेर गजलको विकाशमा लाग्न सबै गजलकारलाई आग्रह गरेका थिए ।

कार्यक्रम आयोजक समितिका संयोजक प्राध्यापक डा. हेमनाथ पौडेलले महोत्सवले गजलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

गजल महोत्सव सकिएपछि महोत्सवमा विभिन्न बहसमा सहभागी गजलकार घनेन्द्र ओझाले सम्पन्न गजल महोत्सवलाई ऐतिहासिक महोत्सव भनेका छन् । उनले भनेका छन्– ‘सातै प्रदेशबाट युवा तथा अग्रज गजल स्रष्टाहरूको प्रतिनिधिमूलक सहभागिता रहेको यस महोत्सवमा गजल वाचन, गजल गायन, गजलसम्बन्धी गोष्ठी विमर्श र परिसंवादका कार्यक्रमहरू सम्पन्न भए । दुवै दिन अत्यन्त व्यस्तताका साथ सम्पन्न भएको यस महोत्सवले गजल क्षेत्रमा रहेको मतान्तरलाई न्यूनीकरण गर्दै गजल लेखनसम्बन्धी साझा घोषणाापत्र पनि सर्वसम्मत रूपले पारित गरेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको इतिहासमा र गजल क्षेत्रमा पनि यो महोत्सव ऐतिहासिक बनेको छ ।’

गजलकार बाबु त्रिपाठीले पनि राष्ट्रिय गजल महोत्सव सुपरहिट भएको प्रतिकृया दिएका छन् । उनले भनेका छन्– ‘सुरुवात हुनु थियो भयो, अब यसको निरन्तरता हुन जरुरी छ । हुन्छ पनि । महत्वपूर्ण कुरा यही हो । प्रज्ञाप्रतिष्ठानका सम्बन्धित सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

महोत्सवमा सहभागी डा. कृष्णहरि बराल, गजलकार ज्ञानुवाकर पौडेल, ललिजन रावल, डा. घनश्याम न्यौपाने परिश्रमि लगायतका गजलकारहरुले पनि गजल सम्बन्धि यति ठूलो कार्यक्रम सुरु हुनुनै सकारात्मक पक्ष भएको बताएका छन् । गजल सम्बन्धि रहिआएका विभिन्न विवादहरुलाई लिएर भएको बहसले पाँच बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।

महोत्सवमा ७ प्रदेशका ५ प्रतिनिधि गजलकारहरुले गजल वाचन गरेका थिए । प्रत्येक प्रदेशबाट एक जनाले प्रादेशिक प्रतिवेदन प्रस्तुत गरेकन थिए ।