समुहमा काम गर्दा खर्च कम हुन्छ

हरिवंश आचार्य, अभिनेता

समूहमा काम गर्न कत्तिको सजिलो हो ?
चलचित्र बनाउने भनेको ज्यादै गाह्रो काम हो । प्रोडक्सन, अभिनय, निर्देशनजस्ता सबै कामको जिम्मेवारी एउटै मान्छेले बोक्यो भने त्यो जोखिमपूर्ण हुन्छ । त्यसले उसको क्रिएटिभिटीमा पनि असर गर्छ । समूहमा मिलेर काम गरियो भने मीठो पाक्यो भने खुसी भएर बाँडेर खाने र नमीठो भयो भने पनि चित्त बुझाएर खान पाइन्छ । एक्लै काम गर्दा सिर्जनामा गुणस्तर नआउला भनेरै हामीले अहिलेसम्म महसञ्चारका सिर्जनालाई सामूहिक रूपमा निर्माण गरिरहेका छौं । हलिउड, बलिउडतिर आफूभन्दा विज्ञ मान्छेलाई हायर गरेर काम गराइन्छ । यहाँ सबै व्यावसायिक छैनन् । कतिपय स्थानमा आफू उपस्थित नभई कामै नहुने अवस्था छ ।

समूहमा काम गर्ने वातावरण कस्तो छ ?
नेपालमा अहिलेसम्मको अवस्था राम्रै छ । नेपालमा त हरेक कुरा मागेर गर्नुपर्छ । यहाँ विदेशमा जस्तो ठूलो स्टुडियो पनि छैन । जनसम्पर्कका आधारमा काम गर्नुपर्छ । जति नै ठूलो स्टार भए पनि उसले समूहमा मिलेर काम गर्ने वातावरण पनि बन्दै गएको छ । बाँडिएर काम गर्दा खर्च कम हुन्छ । सबैले आफ्नो विधाअनुसारको काम गर्दा लोड पनि धेरै छैन, तर कहिलेकाहीं समूहका सदस्यबीच राय नमिल्न सक्छ । यो विषयलाई छलफलबाट समाधान गर्ने गर्छौं ।

सामूहिक कामले महँगी घटाउन कत्तिको सहयोग गर्छ ?
वास्तवमा यस्तो कामले महँगीलाई केही हदसम्म घटाउँछ । अहिलेसम्म हामीले पार्टनरसिपमै काम गरिरहेका छौं । केही नयाँ सदस्यलाई पारिश्रमिक दिएर काम गर्छौं । बाँकी त सबै पार्टनरसिपमै हो । चलचित्रबाट आम्दानी भएको अवस्थामा त्यसलाई दामासाही बाँड्ने गर्छाैं । समूहमा काम गरेपछि चलचित्रका लागि कर्पोरेट विज्ञापन माग्न पनि सजिलो हुन्छ ।