एक्लिँदै बालबालिका

 

माघ ६, काठमाडौं –  सानो परिवार, सुखी परिवार । यो यस्तै मान्यतालाई आत्मसात् गर्दै नेपाली समाज अगाडी बढेको धेरै भएको छैन् । ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भनेर आशिर्वाद दिने पुस्ता अझैं बाँकीनै छन् । तर, पछिल्लो समय एक परिवारमा एक वा दुई सन्तान मात्रै छन् । २ पनि निक्कै कम । थोरै सन्तान भए उनीहरूलाई पालनपोषण गर्न, शिक्षादीक्षा दिन सहज हुन्छ भन्नेमा थुप्रै दम्पतीको ध्यान गयो । हुन पनि कुनै पनि दम्पती मिलेर एउटा सन्तान हुर्काउन सहज हुने देखियो । यसबाट आर्थिक बोझसमेत कम हुने भयो ।

दम्पतीको सोचअनुसार एउटा सन्तानलाई पोषणयुक्त खानेकुरा ख्वाउन सकिन्छ, राम्रो विद्यालयमा पढाउन सकिन्छ, उसका आवश्यकताहरू पूरा गरिदिन सकिन्छ  । अर्कातिर अहिले महँगी आकासिएको छ । घर–परिवारको आवश्यकता पनि बढेको छ । यस्तो अवस्थामा सीमित कमाइले धेरै छोराछोरी हुर्काउन–बढाउन कठिनसमेत हुँदै गएको छ ।

यद्यपि एक्लो सन्तान हुर्काउन सहज भए पनि यसको नकारात्मक असरसमेत देखिन थालेको छ । एउटा सन्तान हुर्काउन सजिलो हुन्छ भन्ने दम्पतीहरू अहिले एक्लो सन्तान हुर्काउन कति कठिन छ भनेर चर्चा गर्न थालेका छन् । एउटा सन्तान हुर्काउन अहिलेका अभिभावकलाई फलामको च्युरा चपाउनुजस्तै कठिन हुँदै गएको छ ।

हिजोआजका प्राय: आमाबुवा कामकाजी हुन्छन् । दुवैले काम नगरी घर–व्यवहार चलाउन गाह्रो पनि हुन्छ । फलस्वरूप उनीहरू दिनभर आ–आफ्नै काममा व्यस्त रहन्छन् भने सन्तान घरमा एक्लै हुन्छन् ।

आमाबुवासँग सन्तानका लागि समय छैन साथै ती बालबालिकाका आफ्नै दाजुभाइ, दिदीबहिनी पनि छैनन् । आफ्नै आमाको कोखबाट जन्मिएका दिदीभाइ, दाजुबहिनी भए उनीहरू आपसमा खेल्दै, रमाउँदै बस्थे । एक–अर्काका साथी हुन्थे तर अहिले उनीहरूको कोही साथी नै नहुने स्थिति छ ।

पहिले संयुक्त परिवार थियो । एउटै घरमा आमाबुवा, काकाकाकी, बाजेबोजु हुन्थे । बालबालिका धेरै हुन्थे । छोराछोरीहरू बाजेबोजुसँग खेल्दै हुर्कन्थे । घरमा धेरैजना हुँदा एक–अर्कासँग रमाउँथे । अहिले त्यस्तो अवस्था छैन । दम्पतीहरू अलग बस्न थालेका छन् । उनीहरू सानो परिवारमा बसिरहेका छन् । यसले गर्दा पनि बालबालिकाहरू एक्ला भएका छन् । एक्लिदै गएका छन् ।

एक्लो सन्तानको साइड इफेक्ट
एक्ला सन्तान धेरै पुलपुलिएर हुर्किएको पाइन्छ । उनीहरूलाई आमाबुवाले बढी महत्व दिने भएकाले मैले जे गरे पनि हुन्छ, मैले जे मागे पनि पाउँछु भन्ने भावना विकास भएको मनोविद्हरू बताउँछन् ।

चीनमा एक दम्पतीले एउटा मात्र सन्तान जन्माउन पाउने नीति लागू भएपछि त्यसको असर निकै भयावह देखिन थाल्यो । त्यहाँका एकल सन्तानमा आत्मविश्वासको कमी, प्रतिस्पर्धात्मक भावनाको अभाव, खतरासँग वा चुनौतीसँग जुध्न नसक्ने मनोबल एवं निराशापूर्ण मनस्थिति प्रबल पाइयो । त्यसैगरी उनीहरू समाज र परिवारसँग पनि घुलमिल हुन नसकेको पाइयो ।

सन् १९७० तथा १९८० सम्म जसरी संयुक्त परिवारमा शिशुहरू हुर्कन्थे त्यसपछि भने उनीहरू सानो परिवारमा हुर्कदै गएको बीबीसीको एक रिपोर्टमा उल्लेख गरिएको थियो ।