बोर्ड अध्यक्षमा हमालको चासो

काठमाडौं, ६ माघ । गत मंसिर २९ गते चलचित्र विकास बोर्डमा अध्यक्ष केशव भट्टराईको निधन भयो । दुईवर्षे कार्यकालका लागि सरकारले गत चैतमा नियुक्त गरेका भट्टराईको हृदयाघातका कारण नियुक्ति पाएको ९ महिनामा निधन भएको थियो । उनले आफ्नो कार्यकालमा बक्स अफिस लागु गर्न सुरु गरेका थिए ।

भट्टराईको निधन पछि रिक्त रहेको अध्यक्ष पदका लागि अभिनेता राजेश हमाल पनि अकांक्षीका रुपमा चर्चामा आएका छन् । संघ संस्थामा नेतृत्वका लागि त्यत्ति चर्चामा नआउने कलाकार हुन्  हमाल ।  लामो समय चलचित्र क्षेत्रमा बिताएका हमाल पछिल्लो समय स्टेज कार्यक्रममा व्यस्त छन् ।

बोर्डको रिक्त अध्यक्ष पदका लागि निर्देशक दयाराम दाहाल, अभिनेता भुवन केसी, नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, आकाश अधिकारी र निर्देशक केपी पाठकको नाम पनि चर्चामा छ ।

दयाराम दाहाल आकांक्षीमध्ये सबैभन्दा बलियो प्रतिस्पर्धी भएको चर्चा सुरु भएको छ । दाहाल सञ्चारमन्त्री गोकुल बाँस्कोटाका गृहजिल्लाका हुन् । उनले बाँस्कोटालाई चुनावमा सहयोग गरेर गुन लगाएका छन् ।