मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं फरार

माघ ३, काठमाडौं – झापा विर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं महानगरीय प्रहरी परिसर भक्तपुरको खोजी सूचीमा छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएसँगै उनी फरार भएका हुन् ।

२० करोड घूस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए।

प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा बुधबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उजुरी दिएका हन् ।

अनुमति पाएलगत्तै प्रहरी प्रसाईंको भक्तपुरस्थित निकोसेरा नजिकको निवासमा पुगेको थियो। तर उनी घरमा नभेटिएको प्रहरीको भनाइ छ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख सविन प्रधानले प्रसाईंंविरुद्ध पक्राउ पुर्जी जारी भएको र उहाँलाई पक्राउ गर्न झापा प्रहरीलाई पनि सम्पर्क गरेको तर त्यहाँ नभेटिएको भन्ने खबर आएको बताए ।