धौलागिरि आधार शिविरमा सूचना केन्द्र

मंसिर २, काठमाडौं – म्याग्दीस्थित संसारको सातौँ (८,१६७) मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ ।

धौलागिरि गाउँपालिकाले पर्यटकको तथ्याङ्क र विवरण राख्न, आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन र सूचना उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गर्न लागेको हो । गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयको रु ३१ लाखको सहयोगमा तीन कोठे भवन निर्माण भएको गाउँपालिकाका प्राविधिक बालकृष्ण पौडेलले बताएका छन् ।

भवनमा रङरोगन र फर्निचर व्यवस्थापन गरेर आगामी यामदेखि सूचना केन्द्र सञ्चालन गर्ने तयारी गरेको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिएका छन् । सूचना केन्द्रबाट हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकको तथ्याङ्क राख्ने, सूचना प्रदान र प्राथमिक उपचार सेवा उपलब्ध गराइने बताएका छन् ।

आधार शिविरमा बिरामी हुँदा हेलिकप्टर बोलाएर अस्पताल पु¥याउने गरिएको छ । चेकपोष्ट राखिएपछि पर्यटकको विवरण राख्न र उनीहरुलाई अप्ठ्यारो परेको अवस्थामा सहयोग पुग्ने स्थानीय होटल व्यवसायी हरिप्रसाद तिलीजाले बताए । धौलागिरि हिमाल आरोहण र पदयात्राका लागि वार्षिक करिब ३०० जना पर्यटक आउने गरेका छन् ।

गुर्जा र आधार शिविरलाई लक्षित गरेर बगरको देउरालीमा टावर राख्न लागिएको हो । यस्तै बगर तातोपानी कुण्डको पानीलाई पदमार्गअन्तर्गत जेल्तुङमा ल्याएर स्नानगृह सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले जानकारी दिएका छन् ।
रासस