महानगरपालिकाको ‘पिक एण्ड ड्रप’ कार्यक्रम प्रभावकारिता न्यून

कात्तिक २७, काठमाडौं – काठमाडौ महानगरपालिकाले टुँडिखेल आसपास क्षेत्रमा शुरु गरेको सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ ।

काठमाडौँ महानगरपालिकाले गत पुस १ गतेदेखि टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट, आरएनएसी र जमलमा शुरु गरेको उक्त कार्यक्रमको प्रभावकारिता अत्यन्तै न्यून देखिएको हो ।

कार्यक्रम शुरु भएको एक वर्ष बित्नै लाग्दा सवारी चालकहरु ट्राफिक प्रहरीका आँखा छली सवारी साधन रोकी यात्रु कुर्ने प्रवृत्तिमा कमी हुनसकेको छैन । जसका कारण जामको समस्या ज्यूँको त्यूयु देखिन्छ ।

‘पिक एण्ड ड्रप’ कार्यक्रमले जामको समस्या कम भएको छ । यसको पूर्णरूपमा कार्यान्वयन हुनका लागि समय लाग्ने कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । काठमाडौँको मुटु मानिने यस क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु कुरेर लामो समयसम्म बस्दा सवारीको पर्खाइमा बसेका यात्रु, पैदलयात्रु र वातावरणसमेत प्रदूषित हुने भएकाले यस किसिमको व्यवस्था गरिएको डङ्गोलको भनाइ छ ।

गत साउनमै कामपाले आठ स्थानमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने तयारी गरे पनि उक्त कार्यले अहिलेसम्म गति लिनसकेको छैन । कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक छ ।

कामपालाई आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ । त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ । ्कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।
रासस