अदालतमा उपस्थित भए सांसद गुरुङ

कात्तिक ३, काठमाडौं – ज्यान मार्ने उद्योगमा संलग्न भएको अभियोग लागेका नेकपाका सांसद पार्वत गुरुङ आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

गुरुङ आफ्ना कानुन व्यवसायीसहित काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । गुरुङलाई केही दिन अघि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको थियो ।

वीरध्वज खड्काको जाहेरीमा २९ वैशाख ०७६ मा काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । सांसद गुरुङले यस अघि केन्द्रबिन्दुसंग कुरा गर्दै ३५ दिनको पक्राउ पुर्जी जारी भएकाले म्यादभित्रै आफु अदालतमा उपस्थित हुने बताएका थिए ।

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट तत्कालिन एमाले उम्मेदवार बनेका गुरुङ सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए ।