लागेन धानमा बाला, क्षतिपूर्ति मूल्याङ्कनका लागि तत्काल नकाट्न केन्द्रको आग्रह

कात्तिक ३, काठमाडौं – धान काटेर भित्राउने बेलामा धानमा बाला लाग्न सकेको छैन । बाला नलागेपछि अधिकांश किसानहरुले कृषकले धान काटेर बारी खाली गर्न थालेका छन् । जिल्लामा लगाइएको जातको वर्णशङ्कर धानमा बाला लाग्न सकेको छैन ।

कृषि ज्ञान केन्द्रले भने क्षतिपुर्ति मूल्याङ्कनका लागि कृषकहरुलाई केहि समय धान नकाट्न आग्रह गरेको छ । केन्द्रका प्रमुख राजन ढकालले बाला नलागेको धानको क्षतिपूर्ति मूल्याङ्कनका लागि अप्ठ्यारो हुने भएकाले केही दिन धान नकाट्न आग्रह गरिएको बताएका छन् ।

पूर्वी चितवनका कृषकले धान काट्न शुरु गरेका छन् । बीउ बिक्री गर्नेहरुले फरक जातको धानको बिउ बिक्री गरेको हुनसक्ने भन्दै शुरुमा दर्ता गर्दा ल्याइएको गरिमाको बीउ र हाल रोपिएको बीउको डिएनए परीक्षण भइरहेको छ । तिहार अगाडि परीक्षणको नतिजा आउने अनुमान गरिएको छ ।

डिएनएको प्रतिवेदन आएसँगै बीउ बिक्री गर्ने कम्पनीलाई के–कस्तो कारवाही हुने भन्ने विषयमा टुङ्गो लाग्ने ढकालले बताए ।  वर्णशङ्कर गरिमा जात १३५ दिनमा पाक्ने भए पनि अहिलेको अवस्था हेर्दा उक्त धान पाक्न १६० दिन हाराहारी लाग्ने देखिएको छ । दाङस्थित सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले भित्र्याएको उक्त जातको बिउ लगाएका देशका सबै स्थानमा यही समस्या देखिएको छ ।

जिल्लामा करीब ९५० बिघामा यो धान लगाइएको अनुमान गरिएको र यसबाट पाँच हजार हाराहारी कृषक प्रभावित भएका छन् । स्थानीय तहले उक्त धानको तथ्याङ्क सङ्कलन गरी केन्द्रमा पठाउन शुरु गरेका छन् । विसं २०७२ मा सूचीकृत भएको गरिमा भारतीय उत्पादन भएको र यसको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल फुलिसक्नुपर्छ ।

जिल्लामा गरिमा, गोरखनाथ र युएस ३१२ जातका आयातित वर्णशङ्कर र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावामन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन् । गत वर्ष वर्षेधान एक लाख १९ हजार ७०० मेट्रिकटन र चैते धान २६ हजार मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षेधान २८ हजार ५०० हेक्टरमा लगाइएको छ ।

रासस