सांसद देखि मन्त्रीसम्मले दशैं खर्च पाउने, कसले कति पाउने ?

असोज  १४, काठमाडौं – सरकारले मन्त्री तथा सांसदहरुलाई दशैँ खर्च उपलब्ध गराउने भएको छ । २०७६ भदौ ३१ मा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले मन्त्री, सांसदहरुलाई चाडवाड खर्चस्वरुप एक महिनाको तलब बराबरको रकम दिने प्रस्ताव पारित गरेको हो ।

असोज २ गते उनले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद निर्णय सार्वजनिक गरेका थिए । भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद बैठकहरुका २६ निर्णय उनले सार्वजनिक गरेका थिए ।

कसले कति पाउँदैछन् दशैँ खर्च ?

सरकारको निर्णयअनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ७५ हजार ६४० रुपैयाँ दशैँ खर्च पाउनेछन् ।

गोकुल बाँस्कोटा, रामबहादुर थापा बादल, योगेश भट्टराई, थममाया थापा, लालबाबु पण्डित, शक्ति बस्नेत, मातृक यादब, उपेन्द्र यादवसहित सबै मन्त्रीहरुले ७० हजार ७३० रुपैयाँ दशैँ खर्च पाउनेछन् । पर्यटनराज्यमन्त्री धनबहादुर बुढा तथा डा.सुरेन्द्रकुमार यादवले दशैँ खर्चबापत ६७ हजार ३० रुपैयाँ पाउनेछन् ।

सरकारको निर्णयअनुसार प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले समेत दशैँ खर्च पाउनेछन् । संघीय सांसदकी उपसभामुख शिवमाया तुम्बाहाम्फे र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको दशैँ खर्च दर एकै रहेको छ ।

दुवैले ७० हजार ३३० रुपैयाँ दशैँ खर्च पाउनेछन् । सांसदहरुलाई दशैँ खर्चबापत सरकारले ६४ हजार ७० रुपैयाँ दिनेछ ।