पूर्वजन्मदेखि अहिलेसम्मको कथा समेटिएको ‘हाउसफूल ४’को पोस्टर सार्वजनिक

असोज ९,काठमाडौं—तिहारको अवसर परेर रिलिज हुन लागेको फिल्म ‘हाउसफूल ४’को प्रचार–प्रसार सुरु भएको छ । फिल्मको पोस्टरहरू सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रचारको सुरुवात गरेको हो । निर्माण टिमले हरेक घण्टा फिल्मको पोस्टर सार्वजनिक गर्ने बताएका छन् । फिल्मको सार्वजनिक पोस्टरहरूमा हरेक एउटा पोस्टरमा एक एक कलाकारलाई प्रस्तुत गरिएको छ ।

फिल्मलाई पूर्वजन्मको कमेडी फिल्म भनिएको छ । फिल्ममा अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कृति सेनन, पूजा हेगडे, चंकी पाण्डे, कृति खरबन्दालगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फर्हाद सम्जीको निर्देशनमा निर्माण भएको ‘हाउसफूल ४’ लाई सजिद नाडियवाला र फक्स स्टार स्टुडियोको सहकार्यमा रहेर निर्माण गरिएको छ ।

फिल्मका यसअघिका तीन वटै सिरिजले दर्शकहरूलाई निकै हसाएको हुनाले ‘हाउसफूल ४’ प्रतिक्षामा रहेको छ । फिल्मको कथा सन् १४१९ बाट सुरु भएर २०१९ मा आएर अन्त्य हुने भएको छ । फिल्मका हरेक मुख्यपात्रको डबल भूमिका रहेको छ । फिल्मको ट्रेलर सेप्टेम्बर २७ मा रिलिज गरिने निर्माण टिमको तयारी रहेको छ ।