दशैंमा ट्राफिक प्रहरीले सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने

असोज ८,काठमाडौं—चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर ट्राफिक प्रहरीले सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ ।

चाडपर्वलाई मध्य नजर गर्दै बिहान, दिउँसो, साँझ र राति गरि चार पटकसम्म महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष जाँचको व्यवस्था गर्न लागेको बताएको छ ।

ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा विशेष जाँचको व्यवस्था गरेको छ ।

सवारी साधन विशेष जाँचका लागि ४३० जनशक्ति थप गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । ’हाल ३६८ स्थानमा नियमित जाँचका लागि ७५० जनशक्ति परिचालन गरेकामा चाडपर्वलाई लक्षित गरेर ४३० जनशक्ति थप गरेका छौँ”, उनले भने ।

ट्राफिक प्रहरीले जाँचका क्रममा मादक पदार्थ सेवन गरे नगरेको, लामो दूरीका सवारी साधनमा दुई चालक भए नभएको, सवारी साधनभित्र भाडादर राखे नराखेको, मोटरसाइकलले हेल्मेटको प्रयोग गरे नगरेको, क्षमताभन्दा धेरै यात्रु वा सामान राखे नराखेको लगायतका कुराको जाचँ गर्ने छ ।