चितवनमा डेङ्गुका कारण पर्यटकको चहलपहल कम

असोज ७, काठमाडौं —साउन महिनादेखि बढेको डेङ्गुको सक्रंमणका कारणले चितवनको भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ ।

विगत वर्षहरुमा यो समयमा दैनिक एक हजारको हाराहारीमा पर्यटक सौराहा भित्रने गरेको तर यस वर्ष भने यो संख्या घटेर २०० को हाराहारी रहेको चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईले बताए ।

भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेको भएपनि यस वर्ष भने संख्या निकै न्यून भएको छ ।

गत वर्षमा समूहमा आउने पर्यटक र बसमा आउने पर्यटक पाँच सयको हाराहारी हुने गरेको थियो । यस वर्ष दैनिक २० देखी ३० को हाराहारी बसमा आउने पर्यटक रहेका छन् भने समूहमा आउने २०० भन्दा कम छन् ।

जिल्लाको शहरी क्षेत्रमा डेङ्गु देखिएकाले त्यसैको हल्लाका कारण पर्यटक घटेको अध्यक्ष भट्टराईको भनाई छ । सौराहा क्षेत्रमा डेङ्गु नदेखिए पनि रत्ननगर नगरपालिकामा हालसम्म १३५ मा डेङ्गुको सङ्क्रमण देखिएको छ ।