छोरीको हत्या गरि बाबुले गरे आत्महत्या

असोज ६, काठमाडौं— आत्महत्या दुरुत्साहनको मुद्दा लागेपछि कैलालीमा छोरीको हत्या गरि बुबाले पनि आत्महत्या गरेका छन् । कैलालीको गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले छोरीलाई विष खुवाएर हत्या गरि आत्महत्या गरेका हुन् । उनले तीन वर्षीय छोरी अनुष्कालाई विष खुवाएपछि आफुले पनि खाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले गत वैशाख १६ गते रामबहादुरकी श्रीमती सरिता कलेलले कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । आत्महत्या अनुसन्धानका क्रममा प्रहरीले कलेललाई आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो । सरिताका माइती पक्षले रामबहादुर विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेका थिए ।

गत जेठ २६ गते जिल्ला अदालत कैलालीले रामबहादुरलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । साउन २२ गते उनी छुटेका थिए । अपराध संहिता लागू भएपछि आत्महत्या दुरुत्साहन अभियोगमा एक वर्षको अवधिमा कैलालीमा १४ वटा मुद्दा दर्ता भएका छन् ।