च्याम्पियन्स लिग ः रियलमाथि पीएसजीको सहज जित

असोज २—युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । बुधबार राति भएको समूह चरणको खेलका पीएसजीले स्पेनिस क्लब रियल मड्रिडविरुद्ध ३–० गोलको सहज जित निकालेको हो ।

आफ्नै घरेलु मैदानमा भएको उक्त खेलमा पीएसजलाई जिताउन एन्जल डी मारियाले २ तथा थोमस मुनियरले एक गोल गरे । पीएसजीले पाहुना टोली रियलविरुद्ध खेलको १४औं मिनेटदेखि अग्रता बनाएको थियो । उसका लागि डी मारियाले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए ।

यस्तै खेलको ३३औं मिनेटमा डी मारियाले दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । उनको गोलपछि पीएसजीले पहिलो हाफसम्म २–० गोलको अग्रता बनायो । यस्तै खेलको इन्जुरी समयमा मुनियरले गोल गरेपछि पीएसजीले ३–० गोलले उक्त खेल जित्यो ।

यससँगै समूह ‘ए’को पीएसजीले ३ अंकसहित उक्त समूहको शीर्ष स्थान बनाएको छ । पराजित रियल भने यस समूहको पुछारमा छ ।

एजेन्सी