मौसममा आजदेखि सुधार आउने

असोज २, काठमाडौं —हाल देशका अधिकांश भागमा आंशिक तथा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का तथा मध्यम वर्षा भइरहेको छ । सामान्यतया नेपालमा जुन १० मा मनसुन शुरु भएर सेप्टेम्बर २३ मा सकिने गर्छ । यस वर्ष नेपालमा १० दिन ढिलो गरी मनसुन भित्रिएको थियो ।

भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमानले उक्त प्रणालीको असर गएरातिसम्म कायम रहेपनि आजदेखि मौसममा सुधार हुँदै जाने बताएको छ ।

बिहीबारदेखि मौसममा सुधार हुने भए पनि शुक्रबारसम्म देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।