साउदीमा तेल उत्पादन कटौैती,अमेरिकामा भण्डारण गरिएको तेल प्रयोग गर्नुपर्ने माग

असोज १, काठमाडौं —साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएको हमलापछि अमेरिकी अधिकारीहरुले आफ्नो देशमा भण्डारण गरिएको तेल प्रयोग गर्नुपर्ने माग गरेका छन् ।

साउदीले नियमित तेल उत्पादनमा कटौती गरेपछि अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि तत्कालको आपूर्तिलाई सहज बनाउन आफ्नो देशमा आपतकालीन अवस्थाका लागि सञ्चित गरिएको तेल प्रयोगमा ल्याउनुपर्ने अधिकारीहरुले माग गरेका छन् ।

तेलको मूल्य बढेसँगै आपूर्ति सहज बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै निर्देशन दिइसकेका छन् ।

अमेरिकामा हाल ६४ करोड ब्यारेल तेल गुफाहरुमा भण्डारण गरेर राखेको बताइएको छ ।

अन्तर्रा्ष्ट्रिय उर्जा केन्द्रका सदस्य राष्ट्रहरुले तीन महिनाका लागि आपूर्ति गर्न सक्ने गरी तेलको भण्डारण गर्न सक्ने कानूनी व्यवस्था छ । तर अमेरिकाको उक्त भण्डारण त्यो भन्दा बढी क्षमताको रहेको बताइएको छ ।

अमेरिकी तेल भण्डाुर विश्वको सबैभन्दा ठूलो आपतकालीन इन्धन भण्डार रहेको बताइएको छ । सन् १९७० को दशकबाट अमेरिकाले आपतकालीन अवस्थाका लागि भन्दै तेल भण्डार शुरु गरेको हो ।

मध्यपूर्वका देशहरुले तेल आपूर्ति बन्द गरेपछि विश्वभर मूल्य आकाशिएको अवस्थामा अमेरिकाले तेल भण्डारण गर्न थालेको हो ।