रानुले गाएको ‘तेरी मेरी कहानी’ को टिजर सार्वजनिक (भिडियोसहित)

भदौ २५,काठमाडौं—पछिल्लो केही समयदेखि सामाजिक सञ्जालमा निकै चर्चामा रहेकी रानु मोन्डलको पहिलो गीतको ‘टिजर’ सार्वजनिक भएको छ । गायक तथा संगीतकार हिमेश रेशमियाको ‘तेरी मेरी कहानी’ बोल रहेको गीतमा रानु र हिमेश दुवैको स्वर रहेको छ ।

यो गीत हिमेशको नयाँ फिल्म ‘ह्याप्पी, हार्डी एन्ड हीर’मा समावेश गरिएको छ । गीतको टिजरलाई हिमेशले ट्वीटरमा सार्वजनिक गरेका हुन् । टिजर सार्वजनिक गरेलगत्तै यसबारे धेरै प्रतिक्रियाहरु आइरहेका छन् । रानुको स्वरको धेरैले प्रशंसा गरेका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार गीतको म्यूजिक भिडियो भोलि बिहीबार सार्वजनिक गरिने भएको छ । रेलवे स्टेशनमा गाउँदै भिख मागेर जीविका चलाइरहेकी रानुको बलिउडमा यो पहिलो व्यवसायीक गीत हो । गायक हिमेश रेशमियाले उनलाई बोलाएर आफ्नो फिल्ममा गीत गाउने मौका दिएका हुन् ।

रेलवे स्टेशनमा सन् १९७२ को फिल्म ‘शोर’मा लता मंगेश्वरले गाएको ‘एक प्यार का नगमा है’ बोलको गीतले गाएर उनी चर्चामा आएकी हुन् । एक यात्रीले उनले गाउँदै गरेको गीतको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनी भाइरल भएकी हुन् । सामाजिक सञ्जालकै कारण अहिले रानुको भाग्य चम्किएको छ । उनी बलिउडका धेरै गायकका नजरमा पनि परिन् । रानुले अहिलेसम्म पाँचदेखि छ वटा गीत रेकर्ड गरिसकेकी छन् ।

‘ह्याप्पी, हार्डी एन्ड हीर’मा हिमेश रेशमियाका साथ फिल्मको मुख्य नायिकामा सोनिया मान रहेकी छन् । फिल्म यहि डिसेम्बर २७ मा रिलिज हुने भएको छ ।