जन्मदिनको अवसरमा अक्षयले गरे ‘पृथ्वीराज चौहान’ को टिजर सार्वजनिक (भिडियोसहित)

भदौं २३,काठमाडौं—आज सेप्टेम्बर ९ तारिखका दिन बलिउड सुपरस्टार अक्षय कुमारले आफ्नो ५२औं जन्मदिन मनाएका छन् । ५२ वर्षको उमेर पुग्दा पनि अक्षय फिटनेशमा निकै ध्यान दिने अक्षयले आफ्नो विशेष दिनमा उनको अभिनय रहने एक ठूलो फिल्मको घोषणा गरेका छन् ।

उनले आफ्नो नयाँ प्रोजेक्ट ‘पृथ्वीराज चौहान’ को टिजर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेका हुन् । उनले आफ्नो जन्मदिनको अवसरमा आफ्नो दर्शकहरूलाई उपहार दिएका छन् । फिल्मको टिजर ट्वीटरमा सार्वजनिक गर्दै उनले आफ्नो जन्मदिनमा आफ्नो पहिलो पिरियड ड्रामा फिल्मको बारेमा बताउँदै निकै उत्साहित रहेको र आफ्नो सौभाग्य भएको बताए । साथै हिरोको भूमिका निर्वाह गर्ने मौका मिलेकोमा आफ्नो खुशी ब्यक्त गरेका छन् ।

सम्राट पृथ्वीराज चौहान आफ्नो जीवनको सबैभन्दा ठूलो फिल्ममध्ये एक रहेको उनले बताएका छन् । भारतका महान राजा पृथ्वीराज चौहानको जीवनीमा आधारित रहेको फिल्मको निर्माण यशराज फिल्म्सले गर्ने भएको छ । फिल्ममा २०१७ मा मिस इन्डियाको ताज जितेकी मानुषी छिल्लरलाई पनि अनुबन्धित गरिएको छ ।

बलिउडमा डेब्यु गर्दै उनी अभिनेता अक्षय कुमारको अपोजिटमा देखिने भएकी छन् । फिल्ममा धेरैजसो पृथ्वीराज र कनौजकी राजकुमारी संयोगिताको प्रेमकथा देखाइने भएको छ । सार्वजनिक गरिएको टिजरमा भने मानुषीलाई देखाइएको छैन । फिल्ममा पृथ्वीराजको भूमिकामा अक्षय र संयोगिताको भूमिकामा मानुषीले निर्वाह गर्दै छन् । मुख्य भिलेन मोहम्मद गौरीको रोलमा भने मानव विज देखिने भएका छन् ।

डा. चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेको फिल्मलाई आउँदो दीपावलीमा प्रदर्शन गर्ने तय गरिएको छ । अक्षय अहिले सूर्यावंशी, बच्चन पाण्डे, लक्ष्मी बम, ‘हाउसफुल ४’, ‘गूड न्यूज’सहित धेरै फिल्ममा ब्यस्त रहेका छन् ।