वर्ल्ड ११ सूचीमा रोनाल्डोभन्दा मेस्सी अगाडि

भदौं २२—विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गर्ने उत्कृष्ट ११ को सूचीमा क्रिस्टियानो रोनाल्डोलाई लियोनल मेस्सीले पछि पारेका छन् । १२ वर्षयता निरन्तर फिफाको उत्कृष्ट ११ टिममा पर्दै आएका मेस्सीले रोनाल्डोलाई पछि पारेका हुन् ।

खेलाडीको प्रदर्शनका आधारमा प्रत्येक वर्ष फिफाले सार्वजनिक गर्ने फिफ्–प्रो वल्ड ११ मा रोनाल्डोभन्दा मेस्सी एकपटक बढी परेका हुन् । बार्सिलोना तथा अर्जे्न्टिनाका स्टार खेलाडी मेस्सी सन् २००७ बाट निरन्तर वर्ल्ड ११ मा अटाएका छन् । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने सन् २००८ बाट फिफाको वर्ल्ड ११ सूचीमा अटाएका हुन् ।

सन् २००८ यता मेस्सी र रोनाल्डो निरन्तर फिफाको उत्कृष्ट फरवार्डको सूचीमा अटाएका छन् । फिफाले छनोट गर्ने तीन फरवार्डमध्ये मेस्सी र रोनाल्डो सन् २००८ यता स्थायी जस्तै छन् । एक फरवार्ड भने फेरिइरहेका छन् ।

विश्व फुटबल जगतमा एक दशकयता प्रभाव जमाएका पोर्चुगिज स्टार रोनाल्डो र अर्जे्न्टिनी स्टार मेस्सीमध्ये को उत्कृष्ट भन्ने बहस बेला बेला चलिरहन्छ । क्लब फुटबलमा सफल दुबै खेलाडीलाई फिफाले निरन्तर उत्कृष्ट खेलाडीको सूचीमा राखेको छ ।

फिफाले सन् २००७ मा सार्वजनिक गरेको सूचीमा मेस्सीले पहिलोपटक स्थान बनाउँदा अन्य दुई खेलाडीमा ब्राजिलियन रोनाल्डिन्हो र डिडियर डोग्वा थिए । सन् २००८ मा रोनाल्डोले वर्ल्ड ११ को फरवार्ड सूचीमा पहिलोपटक स्थान बनाउँदा मेस्सी र फर्नान्डो टोरेस साथमा थिए । सन् २००९ को फिफा वर्ल्ड ११ को फरवार्ड सूचीमा मेस्सी, टोरेस र रोनाल्डो नै थिए ।

सन् २०१० मा भने टोरेसको स्थानमा डेभिड भिल्ला अटाउँदा मेस्सी र रोनाल्डो यथास्थानमा थिए । सन् २०११ मा भिल्लाको स्थानमा रोनी अटाएका थिए । सन् २०१२ मा मेस्सी रोनाल्डो यथास्थानमा रहदा राडमेल फल्काओ उत्कृष्ट फरवार्डमा परेका थिए । सन् २०१३ मा फल्काओको स्थानमा जल्टेन इब्राहिमोविकले ओगटेका छन् ।

सन् २०१४ मा रोनाल्डो र मेस्सीसँगै अर्जेन रोबिन उत्कृष्ट फरवार्डमा अटाएका छन् । सन् २०१५ मा रोबिनको स्थानमा ब्राजिलियन स्टार नेयमार अटाएका छन् । सन् २०१७ मा पनि नेयमार रोनाल्डो र मेस्सीसँगै वर्ल्ड ११ को फरवार्ड सूचीमा पर्दा सन् २०१६ मा भने मेस्सी रोनाल्डोसँगै लुइस स्वारेज थिए ।

सन् २०१८ मा भने नेयमारलाई विस्थापित गर्दै फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे रोनाल्डो र मेस्सीसँगै वर्ल्ड ११ को फरवार्ड सूचीमा अटाएका थिए ।

सन् २०१९ का लागि ५५ खेलाडीको सूची

वार्षिक रुपमा वर्ल्ड ११ छनोट गर्दै आएको फिफाले सन् २०१९ का लागि फिफ्–प्रो वर्ल्ड ११ का लागि पहिलो चरणमा ५५ खेलाडीको नाम सार्वजनिक गरेको छ । ५५ जना मध्येबाट फिफाले ११ जनाको टिम छनोट गर्नेछ । छनोटमा परेका खेलाडीलाई समेटेर ‘टिम अफ द इयर घोषणा’ गर्नेछ ।

सार्वजनिक सूचीमा गोल रक्षकका लागि पाँचजनाको नाम परेको छ । डिफेन्डरमा २० जना, मिडफिल्डरमा १५ जना र फरवार्डमा १५ जनाको नाम छ ।

सूचीमा परेका बार्सिलोनाका कप्तान लियोनल मेस्सी, लिभरपुलका कप्तान भान डाइक र युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डो ‘फिफा द बेष्ट’ अवार्डका लागि अन्तिम नोमिनेसन सूचीमा परेका छन् ।

डाइकको टोली लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो भने नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्याएका थिए । रोनाल्डोले पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि जिताएका थिए भने युभेन्ट्सलाई इटालियन सिरी ‘ए’ र कोपा इटालिया जिताएका थिए । मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए । उनी च्याम्पियन्स लिगको सर्वा्धिक गोलकर्ता पनि हुन् ।

फिफाले सेप्टेम्बर २३ मा अवार्ड वितरण कार्यक्रम गरी विजेता घोषणा गर्नेछ ।

एजेन्सी