यू–१९ एसिया कपः आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुदै

भदौ २०,काठमाडौं —श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा आज नेपालले आयोजक तथा टेष्ट राष्ट्र श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र घरेलु टिम श्रीलंकाबीचको खेल आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार विहान १० बजेर १५ मिनेटमा खेलमा सुरु हुने छ ।

घरेलु टोलीलाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउने रणनीतिमा नेपाली टिम छ ।

यू–१९ एसिया कपमा नेपालले टेष्ट राष्ट्रलाई हराएको इतिहास छ । सन् २०१७ को संस्करणको एसिया कपमा नेपालले भारतलाई समूह चरणको १९ रनले हराएको थियो । कुनै पनि क्रिकेट खेलमा नेपालले भारतलाई पराजित गरेको त्यो नै पहिलो पटक हो ।

नेपालले श्रीलंकालाई भने हराउन सकेको छैन । तर, यस संस्करणको एसिया कपमा नेपाल श्रीलंकालाई शिकार बनाउन चाहन्छ । नेपाल चमत्कारी प्रदर्शनको योजनामा हुनेछ ।

राष्ट्रिय टोलीका मुख्य सदस्य रहेको रोहित कुमार पौडेलको कप्तानीमा नेपाल श्रीलंकाविरुद्ध मैदान उत्रने छ । सिनियर टोलीको अनुभवी रोहित यू–१९ टोलीबाट राष्ट्रका लागि योगदान दिन चाहन्छ ।

नेपाल रहेको समूह ‘बी’मा आयोजक श्रीलंकासँगै बंगलादेश र यूएई छन् । आजै अर्को खेलमा बंगलादेश र यूएईबीच पनि प्रतिस्पर्धा हुँदैछ ।