अक्षयसँग बलिउडमा डेब्यू गर्दै मानुषी

भदौ २०,काठमाडौं —बलिउडका चर्चित अभिनेता अक्षय कुमार अहिले सूर्यावंशी, बच्चन पाण्डे, लक्ष्मी बमसहित धेरै फिल्ममा ब्यस्त रहेका छन् ।

धेरै फिल्महरूमा ब्यस्त हुँदा–हुँदै पनि उनलाई नयाँ फिल्मको अफर आउन भने छोडेको छैन ।भारतीय मिडियामा उल्लेख गरिएअनुसार अक्षयलाई यशराज फिल्मस्को ब्यानरमा बन्ने नयाँ ऐतिहासिक फिल्मको अफर आएको छ । भारतका महान राजा पृथ्वीराज चौहानको जीवनीमा आधारित रहेको फिल्ममा २०१७ मा मिस इन्डियाको ताज जितेकी मानुषी छिल्लरलाई पनि अनुबन्धित गरिएको छ ।

बलिउडमा डेब्यू गर्दै उनी अभिनेता अक्षय कुमारको अपोजिटमा देखिने भएकी छन् । फिल्ममा धेरैजसो पृथ्वीराज र कनौजकी राजकुमारी संयोगिताको प्रेमकथा देखाइने भएको छ । फिल्ममा पृथ्वीराजको भूमिकामा अक्षय र संयोगिताको भूमिकामा मानुषीले निर्वाह गर्दै छिन् । मुख्य भिलेन मोहम्मद गौरीको रोलमा भने मानव विज देखिने भएका छन् ।

फिल्म ‘पृथ्वीराज चौहान’को कास्टिङ लगभग सबै तय भइसकेको छ । मानुषी अहिले डान्स र एक्टिङका वर्कसपमा भाग लिनुका साथै ऐतिहासिक पुस्तकहरू पनि पढिरहेकी छन् । मिस इन्डियाको ताज जितेसँगै उनको बलिउडमा डेब्यूको चर्चा चलि आएको थियो ।

मिस वर्ल्डको ताज जितेपछि मानुषीलाई ठूला ब्यानर तथा चर्चित निर्देशकहरूबाट फिल्मको अफर आएपनि उनले काम गर्न अस्वीकार गर्दै आएकी थिइन् । यस ऐतिहासिक ड्रामा, पृथ्वीराज चौहानको बायोपिकलाई चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्ने भएका छन् ।