भारतको एक पटाखा कारखानामा भएको विस्फोटमा परि २३ को मृत्यु

भदौं १९–भारतको पञ्जाबस्थित गुरदासपुरको बटाला क्षेत्रमा बुधबार दिउँसो करीब ३ः३० बजे एक पटाखा कारखानामा विस्फोट भएको छ ।

गुरदासपुरका डीसी विपुल उज्जवले घटनामा अहिलेसम्म २३ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिएका छन् । त्यस्तै, करीब २५ जना अझै भगनावशेषमा फँसिरहेको हुनसक्ने आशंका गरिएको छ । उनीहरुको उद्दार कार्य अहिले पनि जारी रहेको छ ।

घटनामा २७ जना घाइते रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

विस्फोट यति शक्तिशाली थियो, ५ सय मिटर टाढा रहेको एक मलको शिशा फुटेको थियो भने नजिकका घरहरुमा समेत क्षति पुर्याएको थियो ।

स्थानीयका अनुसार बटाला–जलन्धर रोडको हंसली क्षेत्रस्थित पटाखा कारखानामा भएको विस्फोटको आवाज कयौँ किलोमिटरसम्म सुनिएको थियो ।

विस्फोट के कारण भयो भन्ने अझै खुल्न सकेको छैन ।

एसएसपी उपिन्दरजीन सिंह घुम्मनले कारखाना आवास क्षेत्रमा भएको कारण मृतकको संख्याको बारेमा अहिले नै केही भन्न सकिने स्थिति नरहेको बताए ।

स्थानीयका अनुसार यो कारखानामा यसअघि पनि विस्फोट भएको थियो । सन् २०१७ मा भएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए ।

पञ्जाबका मुख्यमन्त्री अमरिंदर सिंह र प्रदेश काँग्रेस अध्यक्ष सुनील जाखड बिहीबार बटाला पुग्ने बताइएको छ ।

एजेन्सी