जन अपेक्षाअनुसार काम हुन नसकेको रक्षामन्त्री पोखरेलको भनाई

भदौ, १८ काठमाडौं- कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले जन चाहना अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् ।

जनता आवास पुनःनिर्माण कार्यदलले वीरगञ्जमा बुधबार आयोजना गरेको समापन तथा हस्तान्तरण समारोहमा बोल्दै उनले मुलुकमा नयाँ व्यवस्था कार्यान्वयनको चरणमा रहेका कारण जन अपेक्षा अनुसार काम हुन नसकेको बताए ।

‘दुई तहको सरकार बन्यो, सरकार गठन भएको यहाँसम्म आईपुग्दा थुप्रै कुराहरु हुनुपर्ने हो तर भएन । हिजो गर्छु भनेका थुप्रै कुराहरु किन भएन र यो स्वभाविक प्रश्न आम जनताको बीचमा छ ।’ उनले भने, ‘सरकार परिवर्तन मात्रै होईन, यो त प्रणाालीमा भएको परिवर्तन हो । ०७२ साल असोजमा आएर संविधान घोषणा भयो । संविधान कार्यन्वयन गराउनका लागि आवश्यक कानुन, संरचना र विशेष ऐनहरु प्रयाप्त थिएनन् ।’

प्रधानमन्त्रीले पहिलो वर्ष आधार वर्ष र दोस्रो वर्ष डेलिभरीको वर्ष भनेकोले सोही अनुसार सरकार अघि बढ्ने पोखरेलको भनाइ छ । ‘प्रधानमन्त्रीले पहिलो वर्ष आधार वर्ष भन्नुभएको थियो, पहिलो वर्ष पूरा भएपछि देशबासीको नाममा सम्बोधन गर्दै डेलिभरीको वर्ष भन्नुभएको छ । यो वर्ष प्रधानमन्त्रीले गरेको प्रतिबद्धता अनुसार काममा केन्द्रित गर्नेछौं ।’ उनले अगाडी भने, ‘नगरी नहुने काम, नभइ नहुने संरचना, नभइ नहुने विशेष ऐन तयार छ । अब हामी जनतालाई जे प्रतिबद्धता गरेका छौं, त्यही अनुसार काम गर्छौं । निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुरुप काम गर्छौं, ठिक ढंगले गरेको वा गर्न नसकेको भए जनताबाट हुने फैसलालाई हामी स्वीकार गर्छौं ।’