सिरहाको गाउँपालिका कार्यालयमा आगजनी

भदौ १८,काठमाडौं —सिरहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार बिहान अज्ञात समूहले गाउँपालिकाको कार्यालयमा आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजात पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहरालका अनुसार घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि २ जनालाई पक्राउ गरिएको र अनुसन्धान पश्चात मात्र थप कुरा भन्न सकिने बताए ।

आगजनीबाट कार्यालयको महत्त्वपूर्ण कागजातसहित फर्निचरसमेत जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष सन्तोष महतोले बताए । घटनास्थलमा अभिनन्दन बालबालिका स्वतन्त्र पार्टी नेपालको पर्चा भेटिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।