‘साहो’को समीक्षा ः २०१९ को सबैभन्दा ठूलो निराशाजनक चलचित्र

भदौ १५—बाहुबली स्टार प्रभास र अभिनेत्री श्रद्धा कपुरको मुख्य भूमिका भएको फिल्म ‘साहो’ शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । ‘बाहुवली र बाहुवली २’ जस्तो ठूलो हिट फिल्महरुका कारणले साउथका सुपरस्टार प्रभाषको क्रेज भारतमा मात्र नभइ संसारभरि नै फैलिएको छ । त्यसैले पनि ‘साहो’ लाई यस वर्षको बहुप्रतिक्षित फिल्म मानिनुका साथै फिल्मप्रति दर्शकहरु निकै उत्साहित रहेका थिए ।

प्रभाषले करिब २ वर्ष लगाएर हिन्दी बोल्न सिकेर अभिनय गरेको फिल्म ‘साहो’ ले दर्शकहरुलाई निराश बनाएको छ । २ दिन अगाडि दुबईमा आयोजित गरिएको प्रेस शोबाट मिश्रित प्रतिक्रिया पाएको फिल्मलाई भारतीय समीक्षक र दर्शकले फिल्म हेरेर प्रतिक्रिया दिन थालिसकेका छन् ।

ट्वीटरमा ‘साहो’का लागि प्रभाषले आफ्नो २ वर्ष समय नष्ट गरेको र फिल्मको कथावस्तु तथा पटकथा निकै नै कमजोर रहेको प्रतिक्रियाहरु आउन थालेको छ । फिल्ममा समावेश गरिएको केही एक्सन सिनहरु भने राम्रो रहेको र दर्शकले पनि उक्त एक्सन सिनहरुलाई रुचाएका छन् ।

भारतका चर्चित समिक्षा तरण आर्दशले ‘साहो’ लाई १.५ स्टार दिँदै सहनै नसकिने फिल्म बताउँदै प्रतिभा र ठूलो पैसाको बर्बादका साथै कमजोर कथा, भ्रामक पटकथा र कमजोर निर्देशन भनेर लेखेका छन् । साथै समीक्षक सुमित कँडेलले ‘साहो’ लाई १ स्टार दिँदै सन् २०१९ को सबैभन्दा ठूलो निराशाजनक चलचित्र रहेको लेखेका छन् ।

फिल्ममा धेरै कलाकारको खराब अभिनय, नबुझिने कथा, खराब पटकथा, खराब निर्देशन, खराब भीएफएक्स र खराब गीतसंगीतका कारण चलचित्र निराशानजक बनेको र फिल्म हेर्न जादा आफैँ जोखिम उठाएर हेर्न सुझाव दिएका छन् । फिल्ममा ३५० करोडको बजेट किन र कसरी खर्च भयो भन्ने विषयमा अनुसन्धान गर्न आवश्यक रहेको लेखेका छन् ।

बलिउडका अन्य केही समिक्षकहरुले पनि ‘साहो’मा प्रभाष र एक्सन मात्र हेर्न लायकको रहेको तर, खराब कथा र पटकथाका कारण फिल्म निकै नै कमजोर रहेको प्रतिक्रिया दिएका छन् । फिल्मको ८ मिनेट लामो एक एक्सन सिनको लागि मात्र निर्माण टिमले ७० करोड भारतीय रुपैयाँ खर्च गरेको थियो ।

फिल्ममा प्रभास र श्रद्धाका साथ मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजयलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । फिल्ममा नील नितिन मुकेश भिलेनको रोलमा छन् भने श्रद्धा कपुरले पुलिसको भूमिका निर्वाह गरेकी छन् । फिल्मले दर्शकहरुको अपेक्षालाई निराश बनाएको छ ।

विभिन्न एजेन्सीहरुको सहयोगमा