६९ जना कामदार नेपाल फिर्न पाएनन्

भदौ १५, काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) स्थित एड्भान्स म्यानेजमेन्ट सर्भिसेज कम्पनीले करार अवधि सकिइसकेका ६९ नेपालीलाई स्वदेश पठाएको छैन । कम्पनीले भिसा रद्द गर्न नसक्दा कामदार नेपाल फिर्न वञ्चित हुनु परेको हो ।

आफूहरूलाई तीन महिनादेखि स्वदेश नपठाई क्याम्पमै राखिएको पीडित नेपाली कामदार बताउँछन् । उनीहरूलाई काममा समेत लगाइएको छैन । ‘हाम्रो काम छैन । घर पनि पठाइएको छैन । त्यत्तिकै थन्किएर बस्नुपरेको छ,’ दार्चुलाका कृष्णसिंह कोटारीले भने, ‘करार अवधि सकिएको पनि दुई महिना बितिसक्यो ।’

सबै कामदारको भिसा अवधि समाप्त भइसकेको उनले बताए । कम्पनीले कामदारलाई स्वदेश पठाउनुपरे भिसा सकिएको दिनदेखि नै जरिवाना बुझाउनुपर्छ । ठूलो जरिवाना बुझाउनुपर्ने भएकाले कम्पनीले भिसा रद्द गर्न नसकेको हो ।

कान्तिपुर दैनिकमा आज यो खबर छ ।