पत्रकारिता भन्दा पनि मिसनकारितामा मिडियाको दुरुपयोग : मन्त्री बाँस्कोटा

भदौ, १३ काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लाई कमजोर बनाउने विषय मिडिया काउन्सिल विधेयकमा नरहेको स्पष्ट पारेका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले विधेयक ल्याएको बताए ।

लोकतन्त्र गणतन्त्र स्थापित नहोस्, भद्रगोल होस् प्रणालीले काम नगरोस् भन्ने तहबाट हुने बाह्य आक्रमणहरु र मिडिया आफै बहकिएर स्वतन्त्रताको नाममा स्वच्छन्दतालाई प्रेसको परिभाषा भित्र अनुबन्धित गरेर जान खोज्ने कुराले प्रेसको विश्वसनियतामाथि प्रश्न उठाएको र त्यो आन्तरिक चुनौति डरलाग्दो रहेको भन्दै उनले ती सबै चुनौतिको सहज व्यवस्थापन गर्ने सोचमा रहेर विधेयमा आवश्यक व्यवस्था गरिएको बताए ।

उनले नागरिकले प्रेसप्रति विश्वास गर्ने दृष्टिले मर्यादा र सिमालाई सोचेर सरकारले विधेयकमा केही त्यस्ता व्यवस्था गरेको स्पष्ट पारे ।

स्वतन्त्र प्रेसको नियन्त्रण लोकतन्त्रको मुल्य मुल्य पद्धति भित्र नपर्ने विषय भएको भन्दै उहाँले सरकारले कानुनी नियमन र स्वनियमन लाई विधेयकमा उठाइएको बताए ।

कारवाही प्रक्रियाको बारेमा उजुरी, जाँचबुझ, मिलापत्र, स्पष्टिकरण अनि क्षतिपूर्ति वा जरिवानाका विषय राखिएको भन्दै उनले क्षतिपूर्ति र दण्ड जरिवानाका कुरालाई अदालति प्रक्रियामा लैजान सकिने बताए ।

पत्रकारिता भन्दा पनि मिसनकारितामा मिडियाको दुरुपयोग बढ्दै गएको अचम्म अचम्मका प्रवृति देखिएको भन्दै उनले स्वतन्त्र प्रेसको नाममा हुने लोकतन्त्र विरोधी कार्यलाई स्वीकार गर्न नसकिने बताए ।

आमसञ्चार सम्बन्धि नियमन मात्रै गर्ने भएकाले यो विधेयकलाई सम्मृद्ध बनाउने सवालमा आएका सुझावलाई सरकारले समावेश गर्ने प्रतिवद्धता पनि उनले बताए । छलफलपछि मिडिया काउन्सिल विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यसैबीच पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउने उद्देश्यले नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले आचारसंहिता संशोधन गरेका छन् ।

आगामी असोज ६ गतेबाट लागू हुने आचारसंहितामा पत्रकारका लागि कडा प्रावधानहरु छन् ।

प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने अध्यक्ष किशोर श्रेष्ठले बताए ।

पछिल्लो समय युट्युबर, ब्लगरलाई समेत पत्रकार भनेर सर्वसाधारणले बुझ्ने र उनीहरुका सनसनीपूर्ण तर, अफवाह फैलाउने सामाग्री सामाजिक सञ्जालमा शेयर गर्ने प्रवृत्ति बढेकाले पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोगमा समेत आचारसंहिता प्रेस काउन्सिलले जनाएको छ ।

अबदेखि पत्रकारहरुले सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले प्रकाशन गरेका जानकारी, विचार तथा कमेन्ट शेयर वा रिट्विट गरी पुनः प्रकाशन गर्दा आफूले प्रकाशन गरे सरह सत्यतथ्य जाँच गरी निष्पक्षतालाई समेत ख्याल गरेरमात्र सम्प्रेषण गर्नुपर्ने भएको छ ।