मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

जेठ ५, काठमाडौ – कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन। ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आएका छन । मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ । आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा उनी खुसी व्यक्त गर्छन।

वित्तीय संस्थाबाट रु तीन लाख कर्जा लिएर सुरु गरेको श्रीजनशील मूर्ति उद्योगले अहिले मगर परिवारलाई आत्मनिर्भरसमेत बनाएको छ । आफ्नो जीवन चित्रकला र मूर्तिकलामै समर्पित गर्न तथा यसैलाई जीविकोपार्जनको माध्यम बनाउन चाहेको उनी बताउछन । हालसम्मको अनुभवबाट आफ्नो कला जीविकोपार्जनको भरपर्दो माध्यम हुन्छ भन्ने विश्वास भएको मगरको भनाइ छ ।

“जिल्लामा सङ्ग्रहालय र उद्यान बन्ने क्रम बढेको छ । ठूला होटल र पार्टी प्यालेसले पनि विशेष कलाको खोजी गर्न थालेका छन्”, उनले भने, “आकर्षक भौतिक पूर्वाधार बढ्दै जाँदा कलाको बजार पनि फराकिलो हुँदै गएको छ । आफूले अहिले मागअनुसारको मूर्ति बनाउँदै आएको उनले बताए ।”

यही व्यवसायबाट मगरले वार्षिक रु १३ लाखको कारोबार गर्दै आएको छ । यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै नहुने उनी बताउछन । मगरले विभिन्न खालका मूर्ति निर्माणका लागि कच्चा पदार्थ बुटवलबाट ल्याउने गरेका छन। पछिल्लो समय यसको माग बढ्दै जाँदा व्यवसाय राम्रो हुँदै गएको उनको अनुभव रहेको छ । यहाँ उत्पादित मूर्ति दाङसहित रोल्पा, सल्यान, प्युठान, रुकुमलगायत जिल्लामा बिक्री गर्न लैजाने गरिएको छ ।

मूर्तिकला व्यवसायमा महिलाको सहभागिता कमै देखिन्छ । तर पल्टुरामकी श्रीमती जानकी पनि लामो समयदेखि मूर्तिकला व्यवसायमै व्यस्त छन। उनीसँगै श्रीमान् र छोराछोरी सबै सालिक तथा मूर्ति निमार्ण गरिरेका छन । सन्तानले बुबाआमाको सिको पनि गरिरहेका छन् । आफ्नो रुचि र स्वध्ययनले छोराछोरी पनि मूर्तिकलामा लागेपछि मगर दम्पती खुसी छन ।

जानकीको दैनिकी सालिक तथा देवीदेवता र जनावरका आकर्षक मूर्ति तयार गर्नमा बित्छन् । उनको परिवारलाई नै मूर्ति बनाउन भ्याइनभ्याइ छ । पहिले पशुपालन गर्ने जानकी श्रीमान्को मूर्तिकलाको सीप देखेर आफूले पनि सिको गरी श्रीमान्कै जस्तै दिनभर मूर्ति निर्माण गर्छन।