ज्येष्ठ नागरिकलाई भाडादरमा छुट दिन निजी विमान कम्पनीले आनाकानी गर्न नहुनेः पर्यटनमन्त्री

भदौं १२,काठमाडौं —संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीले आनाकानी गर्न नहुने बताए ।

भरतपुर विमानस्थलमा विहिवार पत्रकारसँग कुराकानी गर्दै उनले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएकोमा जोड दिए । आफूले घोषणा गरेको विषयमा विमान कम्पनीले केही टिप्पणी गरेको बताउँदै उनले यसलाई आफूले स्वागत गरेको भन्दै कार्यान्वयनको चरणमा आउनेमा विश्वस्त रहेको पनि बताए ।

विमान कम्पनीले नै सामाजिक उत्तरदायित्वअन्तर्गत यो घोषणा गर्ने अपेक्षा आफूले गरेको बताउँदै उहाँले धर्म र पापको पनि ख्याल गर्न आग्रह गरे । उनले भने, “मान्छे कसैसँग नडराए पनि पाप र धर्मसँग डराउनुपर्छ । सबैसँग छलफल गरेर यो निर्णय कार्यान्वयन हुन्छ ।”

हवाई भाडा दर समायोजन हुने उनको भनाइ थियो । उनले भने, “भाडादर पुनरावलोकन गर्छौं, इन्धनको कुराले भाडादर महङ्गो छ । विदेशीको झनै महङ्गो छ । यसलाई छिट्टै पुनरावलोकन गरेर भाडादर निकाल्छौँ ।”

अर्काे प्रसङ्गमा मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन् । उनले भरतपुर विमानस्थललाई रात्रिकालीन बनाउने, धावनमार्ग थप गर्ने, ट्रमिनल भवन आधुनिक र व्यावसायिक बनाउने जानकारी दिए ।

नेपालभरका विमानस्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उनले काठमाडौँ उपत्यका नजिकै रहेको यो विमानस्थलको विस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने उल्लेख गरे ।

भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताउँदै उहाँले विमानस्थलको स्तरोन्नति गरिने बताए । नेपाल एयरलाइन्सको सुधार गर्ने महत्वपूर्ण एजेण्डाका साथ काम अघि बढिरहेको उनको भनाइ थियो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र भरतपुर विमानस्थल प्रमुख पवनकुमार गौतमले विमानस्थलको अवस्थाका बारेमा जानकारी गराउँदै काम अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।