प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुने

भदौं ११,काठमाडौं — सिंगापुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आगामी सातासम्म पुरा हुने भएको छ ।

प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा उपचार जारी रहेको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्या सिंहलाई उद्धृत गर्दै रिमालले उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुने उल्लेख गरेका छन् ।

राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा रहेको बताएका छन् ।

प्रम ओली धर्मपत्नी राधीका शाक्य सहित सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ स्वास्थ्य उपचारकालागि सिंगापुर गएका थिए । अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

निजी चिकित्सक डा.दिव्या सिंहका अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो । “एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन उनि फेरि सिंगापुर गएका हुन ।

उपचार भैरहेको सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उहाँको मिर्गौलाको थप परिक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गरिरहेका छन । प्रम ओलीले सिंगापुरमा उपचारत रहेकै अवस्थामा पहिलो पटक ९ भदौमा त्यहाँबाट मन्त्रिपरिषद बैठकको नेतृत्व गरेका थिए ।