मेस्सी अझै एक महिना मैदानबाहिर रहने !

भदौं ११ — स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी अझै एक महिना मैदानबाहिर रहने भएका छन् । केही समयअघि अभ्यासका क्रममा घाइते हुन पुगेका मेस्सी अब अझै १ महिना मैदानबाहिर रहने अन्तर्रा्ष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

स्पेनिस रेडियो स्टेशन ‘आरएसी वान’का अनुसार घाइते भएर ठीक हुन प्रयत्न गरिरहेका ३२ वर्षीय मेस्सी अझै एक महिना मैदानबाहिर रहनेछन् । मंगलबार उनी ठीक हुनका लागि अभ्यासमा जुटेका थिए, जसमा थप शारिरीक समस्या आइपरेको आरएसी वानले जनाएको छ ।

यसअघि मेस्सीले ला लिगाअन्तर्गतको रियल बेटिसविरुद्धको खेलबाट खेलमा फर्कँन सक्ने बताइएको थियो । तर, उनी पूर्ण रूपमा ठीक नभएपछि बार्सिलोनाले मेस्सीलाई बेन्चमै राखेको थियो । यस्तै बार्सिलोनाको तेस्रो खेलअन्तर्गत ओसासुनाविरुद्धको खेलबाट मेस्सी मैदान फर्किने सम्भावना रहेको जनाइएको थियो ।

तर, अब उनी एक महिनापछि मात्र बार्सिलोनाको खेलमा फर्किने आरएसी वानको दाबी छ । मेस्सीले रियल बेटिसविरुद्धको अभ्यास खेलमा पनि सहभागिता जनाएका थिएनन् । आफ्नै मैदानमा भएको बेटिससँगको सो खेल बार्सिलोनाले ५–२ गोलले जितेको थियो । मेस्सीले पिँडुलामा चोट बोकेका छन् ।

उनी घाइते भएपछि पनि लगातार अभ्यास गर्दै ठीक हुने प्रयत्न गरिरहेका छन् । तर, एक महिना मैदानभन्दा बाहिर रहनुपर्ने भएपछि मेस्सीले ५ वटा ला लिगाका खेलहरू गुमाउनेछन् । उनले नवप्रवेशी क्लब ओसासुनाका साथै भ्यालेन्सिया, ग्रानडा, भिल्लारियल र गेटाफेविरुद्धको खेल गुमाउनेछन् । उनी ३ वटा अवे खेल र २ वटा घरेलु मैदानमा हुने खेल गुमाउँदा बार्सिलोनालाई थप सकस पर्ने देखिन्छ ।

यता, त्यो एक महिनाबीचमा २ वटा अन्तर्रा्ष्ट्रिय मैत्रीपूण खेल हुँदैछ । अर्जे्न्टिनाले चिली र मेक्सिकोविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । यद्यपि, यस खेलका लागि भने मेस्सी टोलीमा परेका छैनन् । उनले कोपा अमेरिकाका क्रममा दिएको अभिव्यक्तिका कारण उनलाई कोपाले प्रतिबन्ध लगाएको छ ।

उनी मैदानबाहिर रहने भएपछि बार्सिलोनालाई अझ सकस पर्ने देखिन्छ । मेस्सी मात्र नभएर बार्सिलोनामा स्टार खेलाडीद्वय लुइस स्वारेज र ओसमान डेम्बेले पनि घाइते अवस्थामा छन् । उनीहरूमध्ये स्वारेज केही चाँडो मैदान फर्किने भएपनि डेम्बेले भने मैदान फर्किन सक्ने अवस्था छैन । उनी पनि लामो समयका लागि मैदान बाहिर रहनु पर्ने अवस्था छ ।

मेस्सी र डेम्बेले टोलीमा नभएता पनि हालै एथ्लेटिको मड्रिडबाट क्याप नोउ आएका एन्टोइन ग्रिजम्यान, इभान राकिटिक, भिडाल, फ्रेन्क डी योङ, उम्टिटी, जोर्डी अल्बा, सर्जियो रोबर्टोले बार्सिलोनालाई अगाडि बढाउन सक्ने अपेक्षा लिएको छ ।
एजेन्सी