‘सिल्की सिल्की बाल’ भन्दै यसरी नाचे आर्यन र मिरुना

भदौं ५,काठमाडौं —नेपाली फिल्म ‘च च हुई’ मा समावेश गरिएको ‘सिल्की सिल्की बाल’ बोलको पहिलो गीत बिहीबार युटुबमा सार्वजनिक भएको छ ।

गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वरमा रहेको गीतमा राजनकै संगीत रहेको छ । उक्त गीतमा राजनसँगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ । आर्यन र मिरुनालाई रोमान्टिक मूडमा देखिएको गीतको कोरियोग्राफ शिशिर खातीले गरेका हुन् ।

यस फिल्ममा आर्यनले विदेशबाट देश राष्ट्रियता सम्झेर देश फर्किने युवाको भूमिका निर्वाह गरेका छन् । मुस्ताङ्गको चुसाङ्गमा छायांकन गरिएको यो गीत एक साता लगाएर छायांकन गरिएको हो ।

फिल्ममा आर्यनका र मिरुनाका साथ माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ललगायतका कलाकारहरुको अभिनय रहेको छ । साम्तेन भुटियाले निर्देशन गरेको यस फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा रहेर अमृत घोले लामाले निर्माण गरेका हुन् ।

यस फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेको छन् भने सिजन दाहाल र सन्देश अर्यालको कथामा निर्माण भएको छ । यस फिल्मको गीतमा राजनराज शिवाकोटी र रोशन थापाले संगीत भरेका छन् ।
फिल्म मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।