चितवन नेकपाको निर्देशन —रवि समर्थकको प्रदर्शनमा सहभागी नहुन

भदौं २,काठमाडौं — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले प्रहरी नियन्त्रणमा रहेका पत्रकार रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनमा नजान आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

सोमबार जारी प्रेस विज्ञप्तिमा आन्दोलन र अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदर्शनमा पार्टी नेतृत्वको नाम नै किटान गरि भएका नाराबाजी हुनु ‘धमिलो पानीमा माछा मार्ने चलखेल’ भएको उल्लेख गरिएको छ ।

‘सबै घटनालाई लिएर हाम्रो पार्टीको नेतृत्वविरूद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरूलाई बढावा दिनेगरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन’ विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार पुडासैनी साउन २० गते चितवनको नारायणगढस्थित पोखरा बसपार्कको होटल कंगारुमा झुन्डिएको अवस्थामा फेला परेका थिए । घटनाको छानविन गर्दा लामिछानेसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।