अन्तरिम संरचना गठनमा जुट्यो कांग्रेस

भदौ २,काठमाडौं —नेपाली कांग्रेस पार्टीको अन्तरिम संरचना गठनमा जुटेको छ । संघीयतामा गएको चार वर्ष पुरानै संरचनाबाट सञ्चालित कांग्रेस आगामी महाधिवेशनका लागि स्थानीय तहमा संगठन पुनर्संरचना गर्न सक्रिय भएको हो ।

कांग्रेसको अघिल्लो आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ‘नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्दे्शिका, २०७६’ पारित गरेको थियो । निदेशिका अनुसार पार्टीको केन्द्रीय निर्वाचन समिति संरचना समायोजनमा जुटेको हो ।

राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी संयोजकत्वको निर्वाचन समितिले आइतबार पार्टी सभापतिसहित पदाधिकारीसँग छलफल गरेको छ ।

भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय समिति गठन गरिसक्नु पर्ने उल्लेख छ भने स्थानीय तहमा कात्तिक मसान्तभित्र अन्तरिम संरचना गठन गर्नुपर्ने कार्यतालिकामा तोकिएको छ ।