कर्णालीका पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

साउन ३१, काठमाडौं — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पदमुक्त गरेका छन्। बिहीबार राती सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्रीको पेजमा स्टाटस लेख्दै यस्तो जानकारी गराइएको हो ।

’माननीय मुख्यमन्त्रीज्यूले भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने निर्णय गर्नुभएको छ,’ पेजमा लेखिएको स्टाटसमा भनिएको छ, ’उक्त निर्णय आजै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी दिनुभएको छ।’

यसअघि उच्च अदालत पाटनले मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको थियो ।  उच्च अदालत पाटनको वाणिज्य इजलासले मन्त्री खत्रीसहित ५ जनाले १ करोड १० लाख ८० हजार रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको भन्दै पक्राउ गर्न आदेश दिएको थियो ।