हङ्कङ प्रदर्शनः के चिनियाँ सेना परिचालन होला?

साउन १३ —हङ्कङमा फेरि प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडपहरू भएका छन्। प्रहरीले गरेको भनिएको दमनविरुद्ध प्रदर्शनकारीहरू आक्रोशित छन्।

प्रहरीले त्यहाँ रहेको चीन सरकारको कार्यालय पुग्न खोजिरहेका प्रदर्शनकारीहरूमाथि अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ। दशौँ हजार प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए।

हङ्कङमा सरकारविरुद्ध र प्रजातन्त्रको पक्षमा प्रदर्शनहरू भएको लगातार यो आठौँ सप्ताहन्त हो। यो विश्वकै सुरक्षित सहरमध्येको एउटा हो।

तर पछिल्ला प्रदर्शनका क्रममा प्रदर्शनकारी, प्रहरी र आपराधिक समूहसँग आबद्ध ठानिएका मुखुन्डोधारीहरूबीच हिंसात्मक झडपहरू भएका छन्।

आइतवारको प्रदर्शनका सहभागीहरूले विभिन्न स्थानमा अवरोधका निम्ति छेकबार खडा गरेर ’स्वतन्त्र हङ्कङ’ को नारा लगाइरहेका देखिन्थ्यो। सयौँ प्रहरीले चीनको सम्पर्क कार्यालय जान नदिन प्रदर्शनकारीहरूलाई रोकेका थिए।

रोएटर्स समाचारसंस्थाका अनुसार उक्त भवनलाई प्लास्टिकको छेकबार लगाइनुका साथै भवनको अग्रभागको ढोकामाथि रहेको चिनियाँ प्रतीकलाई प्लास्टिकले बेरिएको थियो।

प्रदर्शनकारीहरूले उक्त भवनलाई अघिल्लो आइतवार पनि निसाना बनाएका थिए। उनीहरूले चिनियाँ प्रतीकमा कालो रङ्ग छ्यापेका थिए।

चिनियाँ अधिकारीहरूले उक्त कदमलाई बेइजिङको प्राधिकारमाथिको चुनौती भन्दै त्यो ’सह्य नहुने’ चेतावनी दिएका थिए। मुख्य भूमि चीनलाई सुपुर्दगी गर्ने व्यवस्था गरिएको विवादास्पद विधेयक हङ्कङ सरकारले प्रस्तुत गरेपछि त्यहाँ प्रदर्शन सुरु भएको हो।

उक्त विधेयकले हङ्कङको स्वतन्त्रतालाई अवमूल्यन गर्ने र राजनीतिक कार्यकर्तालाई निसाना बनाउन प्रयोग हुने आलोचकहरूको त्रासबीच विशाल प्रदर्शनहरू भएका हुन्।

विधेयकविरोधी प्रदर्शनहरूमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप लागेपछि असन्तुष्टि सघन भएको थियो।
विधेयकविरुद्धको प्रदर्शन समयसँगै व्यापक आन्दोलनमा बदलिएको छ।
सरकारले विधेयक स्थगित गरेपछि प्रदर्शनकारीहरूले अहिले त्यो फिर्ता हुनुपर्ने मागसँगै ’प्रहरी दमन’ को स्वतन्त्र छानबिन र प्रजातान्त्रिक सुधारको माग गरिरहेका छन्।

उनीहरू प्रजातान्त्रिक ढङ्गले निर्वा्चित नभएकी हङ्कङकी नेत्री क्यारी लामको राजीनामा चाहन्छन्।

केही प्रदर्शनकारीहरू चीनको सरकारप्रति आक्रोश व्यक्त गर्छन्। उनीहरूका बुझाइमा उसले हङ्कङमा स्वतन्त्रतामाथि अतिक्रमण गरिरहेको छ।

पहिला ब्रिटेनको उपनिवेश रहेको हङ्कङको आफ्नै कानुनी र न्यायिक प्रणाली छन्। वैदेशिक र रक्षा मामिला बाहेकमा चिनियाँ सरकारले हङ्कङको ’उच्च कोटीको स्वायत्तता’ रहने प्रतिबद्धता जनाएको छ।

चिनियाँ जनमुक्ति सेनाका टुकडीहरू हङ्कङमा छन्। तर स्थानीय विषयमा उनीहरूको हस्तक्षेपको अपेक्षा गरिँदैन।
तर कानुनले हङकङ सरकारलाई सार्वजनिक सुव्यवस्था कायम राख्न वा विपद्मा राहतको निम्ति जनमुक्ति सेनाको सहयोगको निम्ति उसलाई आग्रह गर्न अनुमति दिएको छ।

गत साता चीनका रक्षा मन्त्रालयका प्रवक्ताले चीनको सम्पर्क कार्यालयमा आक्रमण गर्ने प्रदर्शनकारीको निन्दा गरेका थिए र हङ्कङका नेताहरूले सेनाको सहयोग माग्न सक्ने ’स्पष्ट प्रावधान’ रहेको बताएका थिए।

कैयौँ टिप्पणीकारहरूले हङ्कङमा आफ्नो टुकडीहरूको प्रयोगको निम्ति तयार हुनु चीनका लागि राजनीतिक रूपमा निकै जोखिमपूर्ण हुने तर्क गरिरहेका बेला हालैका हप्ताहरूमा हङ्कङको सरकार र प्रहरीले सेना परिचालन गर्ने आफ्नो कुनै योजना नभएको प्रष्ट पारेका छन्।

मुख्य घटनाको समयतालिका
सन् २०१९ मा प्रदर्शनसँग सम्बन्धित हङ्कङमा भएका प्रमुख घटनाहरूः

३ अप्रिलः मुख्य भूमि चीनलाई सन्दिग्ध अपराधी सुपुर्दगी गर्न अनुमति दिने गरी कानुन संशोधन गर्न हङ्कङ सरकारद्वारा विधेयक प्रस्तुत।

९ जुनः पहिलो पटक अनुमानित १० लाख मानिसहरूको सहभागितामा सरकारको मुख्यालयतर्र्फ याली।

१२ जुनःप्रदर्शनकारीहरूले बाटोमा अवरोध गर्दै सरकारी भवनमाथि धावा बोल्ने प्रयास गर्दा प्रहरीद्वारा उनीहरूविरुद्ध अश्रुग्यास र रबरका गोली प्रहार। त्यो थियो उक्त सहरको इतिहासमा दशकौँ अवधिको सबैभन्दा खराब हिंसा।

१५ जुनःहङकङकी नेत्री क्यारी लामद्वारा अनिश्चितकालसम्मका लागि विधेयक स्थगनको घोषणा।

१६ जुनः त्यसपछि पनि विधेयक पूर्ण रूपमा फिर्ता लिनुपर्ने, ’प्रहरी दमन’ को अनुसन्धान हुनुपर्ने र नेत्री लामले राजीनामा दिनुपर्ने माग गर्दै अनुमानित २० लाख मानिस सडकमा।

२१ जुनः प्रहरीमाथिको बढ्दो आक्रोशकाबीच प्रदर्शनकारीहरूद्वारा प्रहरी मुख्यालय १५ घण्टा घेराबन्दी।

१ जुलाइः संयुक्त अधिराज्यद्वारा हङ्कङ चीनलाई हस्तान्तरण गरिएको वार्षिकीमा प्रदर्शनकारीहरूद्वारा विधानपरिषद्को भवनमाथि आक्रमण र तोडफोड।

२१ जुलाईः प्रदर्शनकारीहरूद्वारा हङ्कङस्थित चीनको सम्पर्क कार्यालयमा अग्रभागमा छ्यापियो कालो रङ्ग, त्यसै रात सेतो टीशर्ट लगाएका मानिसहरूको समूहद्वारा मुख्य भूमि चीननजिकै रहेको युएन लङ स्टेशनमा प्रदर्शनकारीमाथि आक्रमण।

बिबिसी