सागले २७ खेलका खेल सञ्चालन हुने स्थलको टुङ्गो लागायो

साउन १३, काठमाडौं — राष्ट्रिय खेलकुद परिषद्ले नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा समावेश २७ खेलको खेल हुने स्थलको टुङ्गो लागेको छ ।

राखेप सदस्य सचिव रमेश सिलवालसहित संघका पदाधिकारी र प्राविधिक सहितको टोलीले सम्पुर्ण खेल स्थलको निरिक्षण गरेर प्रारम्भिक रुपमा २७ खेलको खेल हुने स्थान पक्का गरेको हो ।

१३ औ संस्करणको साग नेपालमा मंसिर १५ देखि २५ सम्म आयोजना हुदैछ ।
खेल स्थलको मर्मत सम्भार, निर्माण र रंगरोहनको आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको जनाएका छन् ।
सागलाई सरकारले काठमाडौं र पोखरामा सञ्चालन गर्दैछ ।त्यसैगरि अधिकांश खेल काठमाडौंमा सञ्चालन हुने छन् भने महिला फुटबल सहित सात खेल पोखरामा हुनेछ ।

पुरुष फुटबल सहित एथ्लेटिक्सका अधिकांश स्पर्धाहरु दशरथ रंगशालामा सञ्चालन हुने छन् । साईकिलिङका लागि जगडोलको शहिद पार्कलाई खेल स्थलको रुपमा छनौट गरिएको राखेपले बताएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा बास्केटबल र व्याटमिन्टनका खेलहरु सञ्चालन हुनेछ ।
टेबल टेनिस लैनचौरमा रहेको टेबुल टेनिस हलमा तथा क्रिकेटका खेलहरु मुलपानी र कीर्तिपुर मैदानमा सञ्चालन गरिने भएको छ ।

ललितपुरको सातदोबाटोस्थित कराँतेको नवनिर्मित भवनमा कराँते र बक्सिङ तथा तेक्वान्दो भवनमा कुस्ती र तेक्वान्दोका खेलहरु सञ्चालन हुनेछन् । त्यस्तै सुटिङ, पौडी, स्क्वास, टेनिसका खेलहरु पनि सातदोबाटो परिसरमै सञ्चालन गर्ने तय भएको छ ।

राखेपले काठमाडौंको भृकुटी मण्डपलाई खोखो र कबड्डी खेलका लागि स्थलको रुपमा टुङ्गो लगाएको छ । गल्फ गोकर्ण गल्फ क्लबमा सञ्चालन गर्दा उसु र तेक्वान्दोका खेलहरु भने लगनखेलस्थित आर्मीको कभर्डहलमा सञ्चालन गरिनेछ ।

फेन्सिङ लागि खेल स्थलको टुङ्गो लाग्न बाँकी छ । तर पुलिसको निर्माणाधिन कभर्डहललाई सम्भावित खेल स्थलको रुपमा हेरिएको छ । त्यसको विकल्पमा आर्मीको कभर्डहल, भृकुटी मण्डप र त्रिपुरेश्वरको कभर्डहललाई सम्भावित खेल स्थलको रुपमा प्रयोग गरिनेछ ।

त्यस्तै, पोखरामा भने सागका ७ खेलहरु आयोजना हुनेछन् । पोखरामा रंगशलामा महिला फुटबल सञ्चालन गरिनेछ । रंगशालाको कभर्डहलमा आर्चरी, भलिबल, ह्याडबलका स्पर्धाहरु सञ्चालन गरिने राखेपले जनाएको छ ।

त्यस्तै पोखराको सभा गृहमा भारत्तोलन, फेवातालमा ट्रायथलन र प्याराग्लाईडिङका खेलहरु सञ्चालन हुनेछन् ।