नेपाली जहाजका लागि चीनका १५ विमानस्थल खुला

साउन १०, काठमाडौं — नेपालका लागि चीनले आफ्ना थप ८ विमानस्थल खुला गरेको छ ।
योसँगै चीनले १५ वटा विमानस्थल नेपाली विमानका लागि खुला गरेको हो । चीनले यसअघि ७ वटा विमानस्थल नेपालका लागि खुला गरेको थियो ।

चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो । नेपालको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव शुरेश आचार्यको नेतृत्वमा गएको टोलीले सम्झौता पुनरावलोकनमा हस्ताक्षर गरेको हो ।

संझौता पुनरावलोकन दुबै देशका वायुसेवा कम्पनीले सातामा ७० उडान गर्न पाउने प्रावधानलाई लम्ब्याएर ९८ पु¥याइएको छ । तर बढेको २८ उडान चिनियाँ जहाजले काठमाडौंमा उडान थप्न पाउने छैनन् । यो उडान निर्माणाधिन भैरहवास्थित गौतमबुद्ध र पोखरा विमानस्थलका लागि हो ।

थपिएको फ्रक्वेन्सी काठमाडौं बाहिरका विमानस्थलमा लागू हुनेगरी सम्झौता गरिएको नेपाली प्रतिनिधि मण्डलका सदस्य संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।