बलात्कारपछि हत्या गरिएकी निर्मलालाई न्याय माग्दै माइतीघरमा नेविसंघको प्रदर्शन

साउन १०, काठमाडौं — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी निर्मला पन्तलाई न्याय भन्दै नेपाल विद्यार्थी संघले राजधानीमा प्रर्दशन गरेको छ ।

एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रर्दशन गरेको हो ।

पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए ।

पन्त हत्याको एक वर्ष बित्दासमेत घटनामा संलग्नलाई कारवाही नभएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।