स्वास्थ्यमन्त्रीले भने प्रदेश नं २ स्वास्थ्य र शिक्षाको अवस्था कहालिलाग्दो

साउन ९,काठमाडौ —उपप्रधान एवम् जनसंख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ स्वास्थ्य र शिक्षा क्षेत्रको अवस्था कहालिलाग्दो भएको बताएका छन् ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको बहिरङ्ग भवनको आज उद्घाटन गर्ने क्रममा उपप्रधानमन्त्री यादवले प्रदेश नं २ कै बिरामीको चाप काठमाडाँै उपत्यकाका अस्पतालहरूमा अधिक देखिएको बताए ।

उनले प्रदेश नं २ मा जनचेतना अभिवृद्धिको अभियान सञ्चालनको आवश्यकतामा जोड दिए । अन्य प्रदेशको दाँजोमा हृदय, मिर्गौला, मधुमेहलगायतका नसर्ने बिरामी धेरै देखिएकाले खानपान र आचरण सुधारका लागि जनचेतना अभिवृद्धिको कार्यक्रम आवश्यक रहेको उनको भनाई छ ।

यस प्रदेशमा मुटुरोगीहरूको संख्यालाई मध्यनजर गर्दै शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको पहिलो शाखा जनकपुरधाममा स्थापना गरिएको उपप्रधानमन्त्रीले उल्लेख गरे ।

साथै यादवले भने ‘‘हृदय केन्द्रलाई विस्तार गर्न जनकपुर अस्पतालले जग्गा उपलब्ध र प्रदेशले भवन निर्माणका बजेट विनियोजन गरिसकेकाले आगामी दिनमा यसबाट अत्याधुनिक उपचार सेवा उपलब्ध हुनेछ,’’।

यस क्षेत्रमा क्यान्सर रोगको उपचारका लागि अस्पताल निर्माण गर्न संघीय सरकारले बजेट विनियोजन गरिसकेको र अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै उनले प्रारम्भमा भरतपुर क्यान्सरको सहयोगमा यस प्रदेशमा क्यान्सर अस्पताल सञ्चालन हुने जानकारी दिए ।