रणवीर र दीपिका फेरी एकसाथ

साउन ७, काठमाडौ— बलिउडका दुई चर्चित अभिनेता रणवीर कपुर र अजय देवगण एकसाथ चलचित्रमा देखिने भएका छन् । यी दुईको यो पहिलो फिल्म भने होइन । यस अघि यी दुईले ‘राजनीति’ नामक फिल्ममा एकसाथ अभिनय गरिसकेका छन् । साथै, कुनै समय अगाडी एक अर्काको गहिरो प्रेममा परेका अभिनेता रणवीर कपुर र अभिनेत्री दीपिका पादुकोण फिल्म ’तमासा’ पछि फेरी एक पटक एउटै चलचित्रमा देखिने भएका छन् ।

लुभ रञ्जनको निर्देशनमा बन्न लागेको एक एक्सन जनराको चलचित्रमा लामो समयदेखि रणवीर र अजय पहिले नै अनुबन्धित भइसकेका छन् । अहिलेसम्म फिल्मको मुख्य अभिनेत्रीको भने टुंगो लागेको थिएन । अब भने चलचित्रको लागि अभिनेत्री पनि फाइनल गरिएको छ । अब भने यो चलचित्रका लागि दुई चर्चित अभिनेत्री दीपिका पादुकोण र नुश्रात भरुषा पनि अनुबन्धित भएका छन् ।

फिल्मको निर्माण टिम र यी दुई अभिनेत्री बिच लिखित सम्झौता पनि भइसकेको खबर सार्वजनिक भएको छ । निर्माण टिमले फिल्ममा को कसको जोडी को भन्ने खुलाइएको छैन । विभिन्न मिडियाहरुका अनुसार रणवीरले दीपिकासँग रोमान्स गर्ने बुझिन्छ । फिल्मको छायांकन यहि वर्षको अन्त्यबाट हुने पक्का भएको छ । साथै, निर्माण टिमले फिल्मलाई सन् २०२० को क्रिशमसमा प्रदर्शन गर्ने टार्गेट बनाएको छ ।