’सीआईएका जासुसलाई मृत्युदण्ड दिइएको’ इरानको दाबी

साउन ७— इरानले भनेको छ उसले अमेरिकी गुप्तचर निकाय सीआईएको लागि काम गरिरहेका १७ जना जासुसहरूलाई पक्राउ गरेको छ र उनीहरूमध्ये केहीलाई मृत्युदण्डको सजाय दिइएको छ ।

इरानको गुप्तचर हेर्ने मन्त्रालयले संदिग्ध व्यक्तिहरू महत्त्वपूर्ण मानिने सेना र परमाणु गतिविधि सम्बन्धी जानकारीहरू सङ्कलन गरिरहेका थिए भनेको छ ।

उनीहरूमध्ये कतिपयलाई लामो जेल सजाय सुनाइएको इरानी भनाइ छ ।
तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ती विवरण “पूर्णतया झूटो“ भएको जनाएका छन् ।

हालैका हप्ताहरूमा वासिङटन र तेहरानबीच तनाव चुलिएको छ।
अघिल्लो वर्ष राष्ट्रपति ट्रम्पले इरानसँग भएको अन्तर्रा्ष्ट्रिय परामाणू सम्झौताबाट अमेरिका अलग भएको घोषणा गरेका थिए । त्यस यता अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्धहरू लगाएको छ ।

सोमबारको इरानी घोषणा सरकारी सञ्चार माध्यममार्फत गरिएको थियो जसमा मार्च २०१९ यता ती आरोपित गुप्तचरहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

शुक्रबारमात्रै इरानले स्ट्रेट अफ होर्मुजमा आफूले युकेको झण्डा भएको ट्याङ्कर नियन्त्रणमा लिएको जनाएको थियो ।

बिबिसी