कतारविरुद्ध अहिले नेपालले ब्याटिंग गर्दै

साउन ७,काठमाडौं —  आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको च्याम्पियन बनेर विश्व छनोटमा पुग्ने लक्ष्यमा रहेको नेपालले अहिले टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेको छ । कतारले सुरुवातमा बलिङ गरिरहेको छ ।

दोस्रो विकेटको रुपमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल २३ रन बनाएर आउट भएका छन्  ।

यसअघि कप्तान पारस २८ रनमा आउट भएका थिए  । नेपालले ९ ओभरको खेल सकिदा २ विकेट गुमाएर ६१ रन बनाएको छ  ।

उपाधि जितेर विश्व छनोटमा पुग्नका लागि नेपाललाई कतारविरुद्धको पहिलो खेल महत्वपूर्ण छ ।

आईसीसीको एकदिवसीय मान्यता प्राप्त राष्ट्र नेपाल प्रतियोगिताकै शीर्ष वरियता प्राप्त राष्ट्र हो । नेपाल आईसीसीको टी(ट्वान्टी वरियताको ११ औं स्थानमा रहेको छ । कतार भने २१ औं स्थानमा छ ।

नेपाल र कतारबीच हालसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा ४ एकदिवसीय र २ टी( ट्वान्टी खेल रहेको छ ।

अर्कोतर्फ कतार जारी प्रतियोगितामा भाग लिएका टिम मध्ये दोस्रो उच्च वरीयताको टिम हो। २१औं स्थानको कतारका कप्तान तमूर सज्जादले अलराउन्ड प्रदर्शन गर्न सक्छन। सोमबार भएको उद्घाटन खेलमा कतारलाई आयोजक सिंगापुरले ३३ रनले पराजित गरेको थियो । उनले सिंगापुरविरुद्ध २९ बलमा २ चौका र २ छक्का हिर्काएर ३४ रन जोडेका थिए।

नेपालले कतारसँग टी(२० को खेलमा १० वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो। पछिल्लो पटक सन् २००९ को एसिसी टी–२० कपमा नेपाल र कतारबीच खेल भएको थियो। समूह चरणको खेलमा नेपाल ६ विकेटकले विजयी भएको थियो।

४ एकदिवसीयमा ३ पटक नेपालले जितेको छ भने कतारले १ खेलमा जित निकालेको छ । यस्तै टी(ट्वान्टीमा नेपालले १ र कतारले १ खेल जितेको छ ।

१४ सदस्यीय टिममा पारस खड्का (कप्तान), अभिनाश बोहोरा, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित नारायण राजबंशी, पवन सराफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेस्वाकर र सोमपाल कामी, रहेका छन् ।

आजै दोस्रो खेल आयोजक सिंगापुर र कुवेत बीच हुने छ । पहिलो खेल नेपाल र कतारबीच नेपाली समय अनुसार विहान सवा ७ बजे हुने र दोस्रो खेल सिंगापुर र कुवेतबीच बिहान सवा ११ बजे सुरु हुने तालिका छ ।