भेहिकल ट्रयाकिङ सिस्टम १ वर्ष परिक्षण गर्नुपर्ने राष्ट्रिय व्यवसायी महासंघको माग

साउन ३, काठमाडौं— राजधानीमा फेरी अर्का समुहले विरोध कार्यक्रम सुरु गरेको छ । भेहिकल ट्रयाकिङ सिस्टम तत्काल अनिवार्य नगर्न भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले शुक्रबारदेखी प्रदर्शन सुरु गरेको हो ।

राजश्व अनुसन्धान विभागले नयाँ आर्थक वर्षसँगै ढुवानी सेवाको अनलाइन निगरानी गर्ने प्रणाली शुरु गरलगत्तै व्यवसायीहरु आन्दोलित भएका छन् । यसअघि महासंघले विज्ञप्ती मापर्फत परीक्षणको रुपमा मात्र काम गर्न माग गरेको थियो । यद्यपी साउन १ गते अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त प्रणालीको उद्घाटन गरेका थिए ।

राजश्व अनुसन्धान विभागले भेहिकल ट्रयाकिङ सिस्टमका लागि ३ महिनालाई परीक्षण काल मान्ने बताएको छ । तर व्यवसायीहरुले भने सरकारले ल्याएको नीतिलाई अस्वीकार गरेको नभई परीक्षणको अवधि एक वर्ष लम्बाउन माग गरेको महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।

महासंघका अध्यक्ष कटुवालले न्यूरोडको विशालबजारमा आयोजित कोषणसभा बोल्दै व्यवसायीहरुको पहुँचमा कम्प्युटर र इन्टरनेटको प्रविधीमा पुग्न अझै केहि समय लाग्ने बताए ।

विभागले सुरु गरेको नयाँ सफ्टवेयरमा सम्पूर्ण विवरण ‘इन्ट्री’ गरेर एक ठाउँबाट हिँडेको सवारीसाधन निर्वाधरुपमा अर्काे ठाउमा पूग्न सक्छ ।
यसले सवारी साधन कहाँबाट छुट्यो, कहाँ पुग्यो र सामान कहाँ र्झायो भन्नेबारे निगरानी गर्न सकिन्छ ।